मध्य भोटेकोशीको सुरुङबाट पानी चुहिएर बस्ती जोखिममा परेको भन्दै स्थानीयबाट विरोध

सहयात्रा टिभी

काठमाडौं । साउन २९, सिन्धुपाल्चोकमा निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत् आयोजना परीक्षणका क्रममा सुरुङबाट पानी चुहिएर बस्ती जोखिममा परेको भन्दै स्थानीयबाट विरोध भएको छ ।

आयोजनाका लागि चाकुबाट जम्बुसम्म ७ दशमलव २ किलोमिटर सुरुङमध्ये ढुंगाखानी, बोर्डरलाइन, झ्याले भिर, गाती लगायतका स्थानमा पानी चुहिएको स्थानीयको भनाइ छ । यदि सुरुङबाट पानी चुहिन नरोकिए जम्बु, खोर्सानीबारी, खाग्दल, बाह्रबिसे, लामोसाँघु, खाडीचौर लगायत स्थानका बस्तीमा क्षति पुग्ने स्थानीय सुरेन्द्र श्रेष्ठ बताउँछन् ।

हाल विद्युत् उत्पादन गर्ने तयारीमा जुटेको आयोजनाको बोर्डरल्यान्डस्थित मुख्य सुरुङ र संरचना बाहिरका सबैजसो भूभागबाट पानी चुहावट भएर जथाभावी खोलो बग्दा बस्ती नै भासिँदै जान थालेको उनको भनाइ छ ।

सिन्धुपाल्चोकको भोटेकोशी ५ मा बाँध र बाह्रबिसे ५ मा पावरहाउस रहेको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्नको अन्तिम चरणमा छ ।

सुरुङको बोर्डरमा पहिलोपटक २०८० साल पुसमा पानी चुहिएको थियो । पानी चुहिएपछि आयोजनाले नौ महिना लगाएर मर्मतसम्भार गरेको थियो । दोस्रोपटक २०८१ मा पनि सोही स्थानबाटै पानी चुहिएको थियो ।

आयोजनाले तेश्रोपटक असारमा सुरुङमा पानी हालेर परीक्षण गर्दा पनि पानी चुहिएको भन्दै स्थानीय जनप्रतिनिधि, स्थानीयबासी, स्थानीय क्लब तथा वन समितिहरुले ध्यानाकर्षण गराउँदै आएका छन् ।

 

प्रकाशित : 14 August, 2025

प्रतिक्रिया दिनुहोस्