चीनले बच्चा जन्माउने रोबोट बनाउँदै

सहयात्रा टिभी

काठमाडौं । भदौ ४, आधुनिक विज्ञान तथा प्रविधिको क्षेत्रमा चीनले गरिरहेको चमत्कारमा एउटा नयाँ अध्याय लेखिँदैछ ।

एक चिनियाँ कम्पनीले विश्वकै पहिलो मानव रोबोट तयार पार्दैछ, जसले भाडाको आमाको रुपमा अरुको बच्चा कोखमा राखेर जन्माइदिनेछ ।

चिनियाँ रोबोटिक्स कम्पनीले विश्वकै पहिलो त्यस्तो सरोगेट रोबोटको निर्माण सम्पन्न गर्न थालेको समाचारले एकसाथ चर्चा तथा विवाद उत्पन्न गरेको छ ।

यहीँ अगष्ट ८ मा चिनियाँ विज्ञान तथा प्रविधि सम्बन्धी पत्रिका कुआई के झीले डा.झाङ्ग क्विफेंगको अन्तर्वार्ता प्रकाशन गर्‍यो ।

सिंगापुरस्थित नानयाङ्गग प्रविधि विश्वविद्यालयबाट विद्यावारिधि गरेका झांग काइवा टेक्नोलोजी नामक रोबोटिक्स स्टार्टअपका सीईओ हुन् । उक्त कम्पनीले गर्भाधारण गरेर बच्चा जन्माउन सक्ने रोबोट निर्माणमा काम गरिरहेको छ ।

आफ्नो अन्तर्वार्तामा उनले आफ्नो कम्पनी विश्वकै पहिलो ह्युमानोइड प्रेग्नेन्सी रोबोटको निर्माण सम्पन्नको निकै नजिक पुगेको बताएका छन् । उक्त रोबोटको पेटमा कृत्रिम गर्भाशय हुनेछ ।

वास्तवमा रोबोटिक्स प्रविधिको क्षेत्रमा तथा समग्र मानव इतिहासमै क्रान्तिकारी परिवर्तन ल्याउने ठानिएको यो रोबोट सामान्य इन्कुबेटर भन्दा निकै फरक हुनेछ । यो रोबोटले महिलाले जस्तै आफ्नो गर्भाशयमा १० महिनासम्म गर्भाधारण गरेर महिलाले जस्तै जीवित बच्चा जन्माउन सक्नेछ।

यो सरोगेट रोबोटको सबैभन्दा महत्वपूर्ण अंग भनेकै कृत्रिम पाठेघर हो । उक्त कृत्रिम पाठेघरमा प्रत्यारोपित भ्रूणलाई वास्तविक पाठेघरभित्र जस्तै एम्नियोटिक तरलमा हुर्काइनेछ र बच्चाको नालसँग जोडिएको ट्युबमार्फत् पोषक तत्वहरू आपूर्ति गरिनेछ ।

 

प्रकाशित : 20 August, 2025

प्रतिक्रिया दिनुहोस्