दक्षिण अमेरिकाको तटीय क्षेत्र नजिक ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं । भदौ ६, दक्षिण अमेरिकाको तटीय क्षेत्र नजिकै ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार, भूकम्पको केन्द्रविन्दु अर्जेन्टिनाको दक्षिणमा अवस्थित ड्रेक प्यासेजमा १०.८ किलोमिटर गहिराइमा रहेको थियो।
भूकम्पलगत्तै चिलीको नेभी हाइड्रोग्राफिक तथा ओसनोग्राफिक सर्भिसले सम्पूर्ण अन्टार्कटिका क्षेत्रका लागि सुनामीको चेतावनी जारी गरेको छ। यद्यपि, सुनामीको सम्भावित असरबारे मूल्याङ्कन भइरहेको अधिकारीहरूले जनाएका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार, भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।
विगतको घटना: रुसमा शक्तिशाली भूकम्प र सुनामी
यसैगरी, गत जुलाई ३० मा रुसको पूर्वी प्रायद्वीप कामचाट्कामा पनि ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो, जसलाई विश्वकै छैटौँ ठूलो भूकम्प मानिएको थियो।
उक्त भूकम्पका कारण कामचाट्कामा ५ मिटरसम्म अग्लो सुनामी आएको थियो र धेरै भवनहरूमा क्षति पुगेको थियो। १९.३ किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको सो भूकम्पपछि रुस, जापान, अमेरिका र दक्षिण अमेरिकाका तटीय क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरिएको थियो, जसमध्ये केही स्थानमा हल्का छालहरू पनि देखिएका थिए।