सहकारी बैंक सञ्चालक समितिका अधिकांश सञ्चालक नै ऐन विपरीत

काठमाडौं । भदौ ६, राष्ट्रिय सहकारी बैंकका अधिकांश सञ्चालक कानुन विपरीत पदमा बसेको पाइएको छ ।
बैंकका ५ जना सञ्चालक सदस्य सहकारी ऐन २०७४ विपरीत आफ्नो पदमा बसेको खुलेको हो । गत वर्ष मात्रै नेपाल राष्ट्र बैंकले सहकारी बैंक सञ्चालक समितिमा हस्तक्षेप गरेर १३ सदस्यबाट घटाइ ७ मा सीमित गरेको थियो ।
केन्द्रीय बैंकले हस्तक्षेप गरेको एक वर्ष नपुग्दै सञ्चालक समितिमा भएका ५ सञ्चालक ऐन विपरीत पदमा बसेको पाइएको हो । सहकारी ऐन २०७४ अनुसार एक व्यक्ति एकै पटक दुई संस्थाको सञ्चालक रहन सक्दैन ।
तर, सहकारी बैंकका अधिकांश सञ्चालक एउटै समयमा दुई संस्थाको सञ्चालकमा छन् । विभिन्न सहकारी संस्थाका सञ्चालक समिति अध्यक्ष तथा सदस्य नै सहकारी बैंक सञ्चालक छन् ।
सहकारी ऐन २०७४ को दफा ४१ को उपदफा ५ अनुसार कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था छ । त्यसैगरी सोही ऐनको दफा ४४ को ‘ग’ ले पनि अर्को सहकारी संस्थाको सञ्चालक रहेको अवस्थामा आफ्नो पदमा बहाल रहन नपाउने व्यवस्था छ ।
ऐनको उक्त व्यवस्था विपरीत सञ्चालक रहनेमा निवर्तमान अध्यक्ष रमेशप्रसाद पोखरेल, सदस्यहरू विश्वनाथ मण्डल, पार्वती थापा मगर, विजया धिताल र कालीबहादुर महतरा छन् ।
निर्वतमान अध्यक्ष पोखरेल दुई अध्यक्ष परिवर्तन हुँदासम्म पनि निर्वातमान अध्यक्षकै रूपमा सञ्चालक समितिमा छन् । त्यसैगरी उनी स्टार बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पनि हुन् ।