सुनको भाउमा ऐतिहासिक उछाल, चाँदीले पनि तोड्यो कीर्तिमान

काठमाडौं । भदौ १६, नेपाली सुनचाँदी बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यले ऐतिहासिक कीर्तिमान बनाएको छ। लगातार उकालो लागिरहेको सुनको मूल्यले आज फेरि नयाँ रेकर्ड बनाउँदै प्रतितोला दुई लाख पाँच हजार ३०० रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यो मूल्य आइतबारको तुलनामा प्रतितोला एक हजार ७०० रुपैयाँले बढी हो। आइतबार मात्रै सुन प्रतितोला दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार हुँदै कीर्तिमान बनाएको थियो, जुन रेकर्ड आज तोडिएको छ।
यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ उचाइ चुमेको छ। आइतबारको तुलनामा प्रतितोला ४५ रुपैयाँले बढ्दै चाँदी दुई हजार ४७० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला दुई हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो, जुन त्यस दिनको कीर्तिमानी मूल्य थियो। लगातार दुई दिनसम्म सुन र चाँदी दुवैको मूल्यले नयाँ रेकर्ड बनाउँदा बजारमा नयाँ तरंग सिर्जना भएको छ।