सांसदको तलब वृद्धिविरुद्ध इन्डोनेसियामा हिंसात्मक प्रदर्शन, ६ जनाको मृत्यु

काठमाडौं । भदौ १६, इन्डोनेसियामा सांसदहरूको तलब बढाउने सरकारी निर्णयविरुद्ध सुरु भएको प्रदर्शन हिंसात्मक बन्दै गएको छ, जसका कारण हालसम्म कम्तीमा ६ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन्। राजधानी जकार्तासहित देशका विभिन्न भागमा चर्किएको प्रदर्शनका क्रममा आक्रोशित भीडले शुक्रबार राति मकासर सहरको क्षेत्रीय संसद् भवनमा आगजनी समेत गरेका छन्।
देशमा बढ्दो तनाव र हिंसात्मक स्थितिलाई ध्यानमा राख्दै राष्ट्रपति प्रबोवो सुबियान्तोले आफ्नो पूर्वनिर्धारित चीन भ्रमण रद्द गरेका छन्। उनी दोस्रो विश्वयुद्ध समाप्त भएको ८०औँ वार्षिकोत्सवका अवसरमा सेप्टेम्बर ३ मा चीनमा आयोजना हुने विजय दिवस समारोहमा सहभागी हुने कार्यक्रम थियो। राष्ट्रपतिका प्रवक्ताका अनुसार, देशको अवस्थामाथि ध्यान केन्द्रित गर्न र परिस्थितिलाई व्यवस्थापन गर्न राष्ट्रपतिले चीन सरकारसँग भ्रमणमा आउन नसकेकामा माफी मागेका छन्।
प्रदर्शनको मुख्य कारण र सरकारको प्रतिक्रिया
प्रदर्शनको मुख्य जड सांसदहरूका लागि तय गरिएको ३ हजार ५७ अमेरिकी डलरको मासिक भत्ता हो, जुन जकार्ताको न्यूनतम तलबभन्दा १० गुणा बढी छ। सरकारी अधिकारीहरूले पाउने सुविधाप्रति नागरिकको आक्रोश बढिरहेका बेला प्रहरीको गाडीको ठक्करबाट एक डेलिभरी ब्वाईको मृत्यु भएपछि स्थिति थप तनावग्रस्त बनेको थियो।
बढ्दो नागरिक आक्रोशलाई सम्बोधन गर्न राष्ट्रपति प्रबोवोले केही सहुलियतको घोषणा गरेका छन्। उनका अनुसार, राजनीतिक दलहरू सांसदहरूका केही सुविधा र विशेषाधिकार खारेज गर्न सहमत भएका छन्। उनले नागरिकलाई शान्ति कायम राख्न अपिल गर्दै घटनाको छानबिन गर्न आदेश दिएका छन् र मृतकका परिवारसँग भेटघाट पनि गरेका छन्। डेलिभरी ब्वाईको मृत्युको घटनामा संलग्न सात जना प्रहरी अधिकारीलाई हिरासतमा लिइएको छ।
प्रदर्शनकारीका माग र प्रहरीमाथि आरोप
प्रदर्शनकारीहरूले सांसदको तलब वृद्धिको निर्णय फिर्ता लिनुका साथै देशमा बढ्दो महँगी, बेरोजगारी, रोजगारी कटौती जस्ता समस्या समाधान गर्न माग गरेका छन्। उनीहरूले आउटसोर्सिङ बन्द गर्नुपर्ने, आम नागरिकको तलब बढाउनुपर्ने र कर नियममा सुधार गर्नुपर्ने जस्ता माग राखेका छन्।
यसैबीच, प्रदर्शनकारीहरूले प्रहरी दमनको कडा आलोचना गरेका छन्। उनीहरूले प्रहरी प्रमुखलाई बर्खास्त गर्न र प्रहरी प्रशासनमा सुधारको माग गरेका छन्। इन्डोनेसियाको कानुनी सहायता संस्थाले प्रहरीको कारबाहीलाई क्रूरतापूर्ण र मानवअधिकार उल्लंघनको संज्ञा दिएको छ। केही प्रदर्शनकारीले प्रहरीले रबरको गोली मात्र नभई सक्कली गोली समेत प्रयोग गरेको आरोप लगाएका छन्। अधिकारीहरूले सुरक्षा व्यवस्था कडा पारेका छन्, तर देशका विभिन्न स्थानमा तनाव कायमै छ।