अफगानिस्तान भूकम्पका कारण मृतकको संख्या ६२२ पुग्यो

सहयात्रा टिभी

काठमाडौं । भदौ १६, अफगानिस्तानमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ६२२ पुगेको छ । ६ म्याग्निच्युडको भूकम्पका कारण १५ सय भन्दा बढी घाइते भएका छन् ।

भूकम्पले कुनारका तीन गाउँहरू ध्वस्त भएको छ । कुनारमा मात्रै ६१० जना र नाग्गाहारमा १२ जनाको मृत्यु भएको हो । खोजी कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका छ ।

भूकम्पको केन्द्र अफगानिस्तानको पाँचौं ठूलो शहर जलालावाददेखि २७ किलोमिटर टाढा १० किलोमिटर गहिराईमा थियो ।

भूकम्पको केन्द्रबाट झण्डै ४०० किलोमिटर टाढा पाकिस्तानको राजधानी इस्लामावादसम्म धक्का महसुस गरिएको थियो ।

मध्यरातमा आएको भूकम्पले माटो र ढुंगाले बनेका ग्रामिण क्षेत्रका अधिकांश घरहरू भत्किएका छन् ।

सञ्चारमाध्यममा आएका भिडियो फुटेजहरूमा हेलिकोप्टरमार्फत प्रभावितहरूलाई उद्धार गरिरहेको देखिन्छ ।

भूकम्पले भत्किएका भग्नावशेषमा खोजी र उद्धार कार्य जारी रहेको अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

 

 

प्रकाशित : 1 September, 2025

प्रतिक्रिया दिनुहोस्