चर्चित नेपाली लोकदोहोरी गायिका इन्दिरा गोलेको निधन

सहयात्रा टिभी

काठमाडौं । भदौ १८, विविध भाषा र भाकामा हजारभन्दा धेरै गीतमा आवाज दिएकी वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ ।

बुधबार बिहान २ बजे ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा उनको निधन भएको जानकारी तामाङ दाजाङका अध्यक्ष, गायक तथा गीतकार फूलकुमार तामाङले दिए ।

इन्दिरा २ वर्षदेखि क्यान्सरबाट पीडित थिइन् । हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचार गराएपछि उनी दुई सातादेखि अपार्टमेन्टमा बसेर उपचार र आराम गरिरहेकी थिइन् ।

कान्छी छोरीसहित उनी हात्तीवनको अपार्टमेन्टमा बस्दै आएकी थिइन् । बौद्ध संस्कारसहित उनको पार्थिव शरीरलाई अन्त्येष्टि गर्ने तयारी छ ।

तामाङ कलाकार समाजको पूर्वअध्यक्ष समेत रहेकी उनले तामाङ गीत–संगीतलाई विश्वभर फैलाउन भूमिका खेलिन् । रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण भएपछि उनले चर्चित नेपाली लोकदोहोरी गीतहरू पनि गाइन् ।

नेपाली लोक, आधुनिक र तामाङ गीतमा आफ्नो विशिष्ट पहिचान बनाएकी थिइन्। उनको जन्म सन् १९६६ अक्टोबर १९ मा ललितपुरको भर्देउमा भएको थियो। उनले तामाङ सेलो र अन्य लोकगीतहरूमार्फत तामाङ संस्कृतिको संरक्षण र प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलेकी थिइन्।

उनको स्वरमा सजिएका गीतहरू चाँगुनारायण थान, जाइफूलको बासना, घर त छाउनीमा, सफा ट्याम्पुरी, होइ ताङ्बा, गाङ ग्याब्सेलालगायत सदाबहार छन् । गोलेले तामाङ सेलो, लोकदोहोरी, आधुनिक गरी करिब ५ हजार बढी गीतमा स्वर दिइसकेकी छन् ।

उनको उपचारका लागि तामाङ कलाकार संघ लगायतका संघसंस्थाले आर्थिक संकलन अभियान चलाइरहेका थिए । इन्दिरा हात्तीवनको अपार्टमेन्टमा कान्छी छोरीसहित बस्दै आएकी थिइन् । उनका दुई छोरी छन् भने श्रीमानको निधन भैसकेको छ ।

 

 

 

प्रकाशित : 3 September, 2025

प्रतिक्रिया दिनुहोस्