फल खस्ने रोग देखिएपछि भोजपुरका किसान समस्यामा

काठमाडौं । भदौ १८, सुन्तलाको फल खस्ने रोग देखिएपछि भोजपुरका किसान समस्यामा परेका छन् ।
सुन्तलाका दानाका भेट्नो कुहिएर झर्न थालेसँगै यहाँका व्यावसायिक सुन्तलाखेतीमा लागेका किसान समस्यामा परेका हुन् ।
सुन्तलाको फल झर्ने समस्याले किसानलाई चिन्तित बनाएको भोजपुर नगरपालिका–३ गुप्तेश्वरका किसान डम्बर बस्नेतले जानकारी दिए ।
सुन्तलामा विभिन्न खालका रोग देखिएपछि किसान समस्यामा परेको उनको भनाइ छ। गुप्तेश्वरका तमना, रबे, सिमलबोटे, बलौटे, वाछलालगायत ठाउँका करिब ३०० किसानले सुन्तलाखेती गर्दै आएको उनले जानकारी दिए ।
सुन्तलामा रोग देखिएपछि किसान उपचारको खोजीमा रहेको उनको भनाइ छ। सुन्तलामा फल झर्ने, हाँगा सुक्ने, ढुसी लाग्ने, पात बेरिने समस्या देखिएको स्थानीय किसान शारदा थापाले बताए।
फल झर्ने रोगले कतिपय बोट खाली नै भइसकेको उनको भनाइ छ। गतवर्ष रु १० लाखको सुन्तला बेचेको भए पनि यस वर्ष रोगका कारण उत्पादन घट्ने चिन्ता बढेको उनको भनाइ छ ।