संवैधानिक परिषद् विधेयक आज प्रतिनिधिसभाबाट अगाडि नबढ्ने

काठमाडौं । भदौ १९, प्रतिनिधि सभाबाट आज संवैधानिक परिषद् विधेयक अगाडि नबढ्ने भएको छ । यो विधेयक अगाडि बढाउने गरी प्रतिनिधि सभाको दैनिक कार्यसूचीमा राखिएको छ ।
तथापि, यसलाई कार्यसूचीबाट हटाउने विषयमा नेपाली कांग्रेस र नेकपा एमाले सहमत भएका छन् ।
यो विधेयकका सम्बन्धमा दुई दलका नेताहरू निरन्तर छलफलमा छन् । राष्ट्रपति पौडेलले फिर्ता पठाउँदा दिएका सन्देश कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ । यही बेला प्रतिनिधि सभाको कार्यसूचीमा समेत चढेको थियो ।
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार आज यो विधेयक अगाडि बढ्ने छैन ।
प्रमाणीकरणका लागि पुगेको विधेयक गत साउन ८ गते राष्ट्रपति पौडेलले पुनर्विचारका लागि भनेर फिर्ता पठाएका थिए ।
राष्ट्रपतिको कार्यालयका अनुसार सरकारले अगाडि बढाएको संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकूल भएको भन्ने राष्ट्रपति पौडेलको चासो रहेको छ।
संविधानको धारा ११३ मा विधेयकमा प्रमाणीकरणसम्बन्धी व्यवस्था छ।
यदि प्रमाणीकरणका लागि पेस भएको विधेयकमा पुनर्विचार आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा उत्पत्ति भएकै सभामा पठाउन सक्छन् । यस्तो प्रावधान संविधानको धारा ११३ को उपधारा ३ मा छ ।
संवैधानिक विधेयक सम्बन्धी विधेयक १२ फागुन २०७९ मा प्रतिनिधिसभामा दर्ता भएको थियो । यो विधेयक प्रतिनिधिसभाबाट १८ चैत २०८१ मा पारित भएर राष्ट्रिय सभामा गएको थियो। राष्ट्रिय सभाले ३० जेठ २०८२ मा पारित गरेर प्रतिनिधिसभामै फिर्ता पठाएको थियो ।
फिर्ता भएको ४३ दिन पछि आज बिहीबारको प्रतिनिधि सभाको कार्यसूचीमा समावेश भएको थियो । तर, फेरि रोकिने भएको छ ।
पुनर्विचारपश्चात् विधेयक जस्ताको तस्तै वा संशोधनसहित जसरी पारित भएर आएपछि राष्ट्रपतिले त्यसको १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने व्यवस्था संविधानको धारा ११३ को उपधारा ४ मा छ ।