दिवाखाजामा छेपारो परेपछि महोत्तरीका ६० बालबालिका अस्पताल भर्ना

काठमाडौं । भदौ १९, दिवा खाजामा छेपारो परेपछि महोत्तरीको एक विद्यालयका ६० बालबालिका अस्पताल भर्ना भएका छन् ।
पिपरा गाउँपालिका ६ रतौली स्थित आदर्श माध्यमिक विद्यालयका बालबालिकाको दिवाखाजामा छेपारो परेको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रकाश महतोका अनुसार आज दिउँसो खाजामा एक बालकको प्लेटमा दिएको खाजामा छेपारो परेको थियो ।
ती बालकले छेपारो देखेपछि कसैलाई नभनी खाजा फालेर घर फर्केर अभिभावकलाई सुनाएका थिए । त्यसपछि अभिभावकले खाजामा छेपारो परेको भनेपछि केही बालबालिकाले वाकवाकी लागेको बताएका थिए ।
अभिभावक र विद्यालयले तत्कालै खाजा खाएका ६० बालबालिकालाई निगरानीका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याएका छन् ।
व्यवस्थापन समिति अध्यक्ष महतोका अनुसार कसैलाई त्यस्तो समस्या छैन । तर पनि कुनै घटना नहोस् भनेर बालबालिकालाई अस्पताल ल्याइएको बताए ।
यता प्रादेशिक अस्पताल जनकपुरका आकस्मिक कक्ष इन्चार्ज शरद यादवले बालबालिकामा यस्तो कुनै समस्या नदेखिएको बताए ।अभिभावकहरू चिन्तित भएर अस्पतालको निगरानीमा राखेको उनको भनाइ छ ।