रियालिटी शो शार्क ट्यांक नेपाल को पहिलो सिजन आज सकिँदै

काठमाडौं । भदौ १९, लोकप्रिय बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’को पहिलो सिजनको प्रसारण विहिबार समाप्त हुँदैछ ।
दर्शकले राती ९ बजेदेखि हिमालय टिभीमा पहिलो सिजनको अन्तिम तथा २० औं एपिसोड हेर्न पाउनेछन् ।
१० हप्ताअघिदेखि प्रसारण सुरु भएको ‘शार्क ट्यांक’को नेपाल संस्करणले पहिलो सिजनमै सफलता हासिल गर्यो । उद्यमशिलता र नवप्रवर्तनको आइडिया पिच गर्ने उद्यमीलाई पहिलो सिजनले झण्डै ४० करोडको लगानी जुटाइदियो ।
आठौं सातासम्म शोले ३५ करोड १२ लाख रुपैयाँको लगानी जुटाइसकेको छ । पहिलो सिजनमा सर्वाधिक धेरै डिल वेद एपले ६ करोड (२० प्रतिशत इक्विटी र केपीआई)मा गरेको छ ।
शार्क हेमराज ढकालले उक्त सर्वाधिक डिल गरेका थिए । सबैभन्दा न्यून डिल चाहिँ विहे नेपाल एपले १ हजार (१ प्रतिशत इक्विटी)मा प्राप्त गर्यो ।
यसैबीच, शार्क ट्यांकमा दिएको वचनअनुसार शार्क तथा अग्नि ग्रुपका प्रमुख क्याबिनेट श्रेष्ठले कास्कीको अन्नपूर्ण ३ स्थित मारम्चे अर्गानिक कृषि फार्मका बलराम पौडेललाई महिन्द्राको बोलेरो पिकअप भ्यान प्रदान गरेका छन् ।
शोको दोस्रो सिजनको अडिसन चाँडै सुरु हुने हिमालय टिभीले जनाएको छ । गतसातादेखि हिमालय रोडिजको सातौं सिजनको प्रसारण पनि सुरु भएको छ ।