थाइल्यान्डमा आज नयाँ प्रधानमन्त्री चयन

काठमाडौं । भदौ २०, थाइल्यान्डमा नयाँ प्रधानमन्त्री चयन गर्न आज संसद्मा मतदान गरिने भएको छ । देशमा जारी राजनीतिक संकट समाधानका निम्ति ठूला पार्टीहरूले नयाँ प्रधानमन्त्री चयन हुनासाथ चाँडै नै संसद् विघटन गरी आमनिर्वाचन गराउने प्रतिबद्धता गरिरहेका बताइएको छ ।
देशको संविधानअनुसार सन् २०२० को आमचुनावमा छनोट भएका पाँच उमेदवार मात्र प्रधानमन्त्री पदका निम्ति योग्य छन् । तीमध्ये भूमजैथाई पार्टीका नेता अनुतिन चार्नविराकुललाई प्रबल दाबेदार मानिएको छ । गएको साता थाइल्यान्डको संवैधानिक अदालतले फू थाई पार्टीकी नेता पैतोंगटार्न सिनावात्रालाई प्रधानमन्त्री पदबाट हटाएको थियो । कम्बोडियाका सिनेट अध्यक्ष हुन सेनसँग फोनमा कुरा गरेको उनीमाथि आरोप थियो
उक्त कुराकानी त्यति बेला भएको थियो, जब थाइल्यान्ड र कम्बोडियाबीच सीमा विवाद चलिरहेको थियो । यसलाई राजनीतिक नैतिकताको नियमको उल्लंघन मानिएको थियो । हाल अन्तरिम सरकार चलाइरहेको फू थाई पार्टीले मंगलबार संसद् विघटन गर्ने प्रयास गरे पनि कार्यवाहक प्रधानमन्त्रीले राजाका सल्लाहकारहरूको एक विशेष समितिले यो अनुरोध अस्वीकार गरेको बताए ।
बिहीबार फू थाई पार्टीले पूर्वमहान्यायाधिवक्ता र पूर्वन्यायमन्त्री चायकासेम नीतिसिरीलाई प्रधानमन्त्री पदका निम्ति मनोनयन गर्ने घोषणा गरेको छ । चायकासेमले आफू प्रधानमन्त्री निर्वाचित भएमा शपथग्रहण गरेपछि तुरुन्तै संसद् विघटन गर्ने बताएका छन् ।
अनुतिनले आफूलाई २८९ सांसदको समर्थन रहेको बताएका छन् । पिपुल्स पार्टीले पनि आफ्ना १४३ सांसदले अनुतिनलाई भोट दिने जनाएको छ । अनुतिनले ४९२ सांसदमध्ये बहुमतका निम्ति आवश्यक २४७ भन्दा बढी भोट पाउने सम्भावना रहेको बताइएको छ ।
अनुतिन यसअघि सन् २०२३ मा सत्तामा आएको र जुलाईसम्म रहेको फू थाई गठबन्धन सरकारमा मन्त्री थिए । उनी त्यसअघि पूर्वप्रधानमन्त्री प्रयुत चान–ओ–चाको सेना–समर्थित सरकारमा पनि संलग्न थिए । उनी गाँजालाई अपराधको श्रेणीबाट बाहिर हटाउने अभियानका निम्ति बढी लोकप्रिय छन् ।
कोरोना महामारीको समयमा अनुतिन स्वास्थ्यमन्त्री थिए । त्यति बेला उनले खोपको पर्याप्त आपूर्ति गर्न नसकेको भन्दै आलोचनाको सामना गर्नुपरेको थियो । उनको पार्टीले अनुतिन प्रधानमन्त्री बने चार महिनाभित्र संसद् विघटन गरी आमचुनाव गराउने जिकिर गरेको छ । यो सर्त उनले पिपुल्स पार्टीको समर्थन पाउनका निम्ति राखेका थिए ।