प्रधानमन्त्रीकै सचिवालयले मानेन सरकारको निर्णय

काठमाडौं । भदौ २०, सरकारी निर्णय अनुसार अत्यधिक प्रयोगमा आइरहेका सामाजिक सञ्जालहरू यतिबेला निष्क्रिय हुने प्रक्रियामा छन् ।
हिजो (बिहीबार) मात्रै सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले सूचीकृत नभएका २६ वटा सामाजिक सञ्जालहरू चल्न रोक लगाउने निर्णय गरेको थियो । सोही अनुसार, इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले विस्तारै सामाजिक सञ्जालमा रोक लगाउन थालेको छ ।
वल्डलिंकले हिजै रातिबाट फेसबुक बन्द गराएको थियो ।
तैपनि अहिले विभिन्न वैकल्पिक बाटो प्रयोग गर्दै प्रयोगकर्ताहरू सामाजिक सञ्जाल चलाउन भने छाडेका छैनन् । यो त भयो आम प्रयोगकर्ताहरूको विषय । तर, निर्णय गराउने निकायले नै सामाजिक सञ्जाल चलाउन भने रोकेका छैनन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीकै अफिसियल फेसबुक पेज, ह्वाट्सएप ग्रुप सक्रिय भइरहेको छ ।
आजैबाट सुरु भएको सत्तारुढ दल नेकपा एमालेको विधान महाधिवेशनको अपडेट प्रधानमन्त्रीको सचिवालयले फेसबुक र ह्वाट्सएपबाटै गराएको छ ।
जसको यतिबेला सञ्जालमै विरोध हुन थालेका छन् । नीति निर्माताहरू नै आफूले गरेको निर्णयमा अडिग नभएको भन्दै आलोचना भइरहेको हो ।
प्रधानमन्त्रीको अफिसियल फेसबुक पेज ‘पीए केपी शर्मा ओली सेक्रटेरियट’, ‘बालकोट’ मा भएको पछिल्लो पोस्टमा प्रश्न उठाउँदै थप पोस्टहरू हुन थालेका हुन् ।