एमाले विधान महाधिवेशन आज सकिँदै, अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौं । भदौ २२, नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन विभिन्न प्रतिवेदनहरू पारित गर्दै आज (आइतबार) सम्पन्न हुँदैछ । समापन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, शनिबार सकिएको समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्न आज बिहान ८ बजेदेखि बन्दसत्र जारी रहेको छ । महाधिवेशनमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान संशोधन प्रतिवेदनमाथि १० वटा समूह बनाएर छलफल गरिएको थियो ।
समूहगत छलफलका निष्कर्ष र प्रतिनिधिबाट उठेका जिज्ञासामाथि अध्यक्ष ओलीले जवाफ दिएपछि महाधिवेशनले समसामयिक प्रस्ताव पारित गर्नेछ । त्यसलगत्तै केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गरी महाधिवेशन औपचारिक रूपमा समापन हुने गौतमले जानकारी दिए ।
महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव मस्यौदा गर्न सचिव योगेश भट्टराईको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको थियो । समितिले मुलुकको वर्तमान राजनीतिक, आर्थिक, सामाजिक तथा जनजीविकासँग सम्बन्धित विषयमा पार्टीको धारणालाई प्रस्तावका रूपमा प्रस्तुत गर्नेछ ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० गते सुरु भएको थियो । महाधिवेशनमा देशभरबाट २,०२६ प्रतिनिधि र ३१५ आयोजक गरी कुल २,३४१ जनाको सहभागिता रहेको एमालेले जनाएको छ ।