आज मध्यपुरथिमिमा जिब्रो छेड्ने जात्रा हुँदै

काठमाडौं । भदौ २२, आश्विन शुक्ल पूर्णिमाका अवसरमा आज साँझ मध्यपुरथिमिमा ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ (जिब्रो छेड्ने जात्रा) हुँदैछ । जात्रा मध्यपुरथिमि–५ दिगुलीस्थित दिगुभैरव डबलीबाट साँझ ७ः०० बजे सुरु हुन्छ ।
यस वर्ष पनि मध्यपुरथिमि–४ बालकुमारीका साहसी संस्कृतिप्रेमी युवा वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदैछन् । मध्यपुरथिमिमा दुईवटा जिब्रो छेड्ने जात्रा प्रचलनमा रहेको छ ।
पहिलो बिस्काः जात्राका अवसरमा प्रत्येक वर्ष वैशाख २ गते बोडेमा हुने जिब्रो छेड्ने जात्रा र दोस्रो इन्द्रजात्राको भोलिपल्ट अर्थात् आश्विन शुक्ल पूर्णिमाको दिन थिमिमा मनाइने ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ ।
दुवै जात्राको आआफ्नै विशेषता छ । बोडेको जिब्रो छेड्ने जात्रामा एक जनाले मात्र जिब्रो छेडाउने प्रचलन रहेको छभने यो जात्रा परिक्रमा गरिने निश्चित प्रदिक्षामार्ग ९रुट० रहेको हुन्छ ।
तर थिमिको ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’मा जिब्रो छेडाउने व्यक्ति एक जनाभन्दा धेरै पनि हुनसक्छ । यो जात्रामा जिब्रो छेडाउन इच्छ्याएको व्यक्ति धेरै भएमा एक जनाभन्दा बढीले पनि जिब्रो छेडाउन पाइन्छ ।
यो जात्राको अर्को विशेषता भनेको जात्राको कुनै निश्चित प्रदक्षिणामार्ग अर्थात् रुट नहुनु हो । यो जात्रामा जिब्रो छेडाएका व्यक्तिको इच्छाअनुसारको रुटमा परिक्रमा गराइन्छ ।
सोहीअनुसार वीरेन्द्रभक्तले गत वर्ष पनि जिब्रो छेडाएर काठमाडौँको पशुपतिनाथको दर्शन गरेका थिए भने यस वर्ष भक्तपुरको दत्तात्रय र नवदुर्गाको दर्शन गरी भक्तपुर नगर परिक्रमा गरिने भएको छ ।