नेपालका बुद्धिजीवीहरूले सरकारले गरेको राम्रो काम पनि नदेखेको भन्दै ओलीको गुनासो

काठमाडौं । भदौ २२, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका बुद्धिजीवीहरूले सरकारले गरेको राम्रो काम पनि नदेखेको भन्दै गुनासो गरेका छन् ।
ललितपुरको गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनको तेस्रो दिन हलमा सुरुमा सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
उनले पछिल्लो समय सरकारले गरेको लिपुलेक, लिम्पियाधुरा नेपालकै हो भनेर विश्वमञ्चमा आफ्ना कुरा राख्दा पनि बुद्धिजीवीहरूले नदेखेको भन्दै गुनासो गरे ।
सो क्रममा उनले हलमा प्रतिनिधिमाझ एउटा कथा सुनाए । जहाँ एउटा पुतली रस खाएर निदाएर मान्छे बनेको सपना देखेको, सपनामा डाक्टर, पाइलट, इन्जिनियर बनेको सपना देखेको कथा सुनाए । सोही कथामा पुतली मन्त्री बन्छु भनेर निदाएको र उठ्दा आफू पुतली नै बनेको प्रसंगमा सो कुरा सुनाएका थिए ।
प्रधानमन्त्री ओलीकै सचिवालयका अनुसार, सामाजिक सञ्जाल बन्दलाई तथाकथित बुद्धिजीवीहरुले सरकारद्वारा वाक स्वतन्त्रता कुण्ठित गरियो भनेर भ्रम सृजना गरेकोमा उनले आश्चर्य व्यक्त गरेका थिए ।
‘मुलुकको स्वाधिनता र राष्ट्रियताका लागि सरकारले नेपालमा सामाजिक सञ्जाल दर्ता हुन भनेर एक वर्षदेखि भनिरहको छ । कानुनको दायरामा आउन भन्दा नआएछि सञ्चालनमा रोक लगाइएको हो । तर विरोध गर्ने केही बुद्धिजीवीहरुले वाक स्वतन्त्रताको अर्थ बुझेका छैनन्’, ओलीले भनेका छन् ।
एउटा पुतली आयो । रस खाएर निदायो । उसले सपनामा मान्छे भएको सपना देख्यो । सपनामा उसले मान्छे भएको, डाक्टर भएको, इन्जिनियर भएको देख्यो । ठूलाठूला मान्छे भएको सपना देख्यो । अनि अब चाहीँ मन्त्री बन्छु भनेर सुतेको, उठ्दा त पुतली नै छ ।
म त मान्छे भएको थिएँ होइन भन्दा आफू पुतली नै छ । अहिलेको बुद्धिजीवीहरू यही पुतलीजस्तो भए । सरकारले गरेको राम्रो काम चाहीँ देख्दै नदेख्ने । लिपुलेक, लिम्पियाधुरा नेपालमा ल्याएको देख्दैन । तर, सरकारको राम्रो काम नदेखेर नराम्रा काम खोज्दै हिँडेको छ । यो पुतली र बुद्धिजीवीहरू उस्तै भए ।