आफू निकट मन्त्रीलाई राजीनामा गर्न शेखर कोइरालाको निर्देशन

सहयात्रा टिभी

काठमाडौं । भदौ २४ , नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारमा आफ्नो पक्षबाट सहभागी मन्त्रीहरूलाई तत्काल राजीनामा दिन निर्देशन दिएका छन्। चीन भ्रमणमा रहेका कोइरालाले भ्रमण छोट्याएर आजै साँझ नेपाल फर्कँदैछन्।

नेता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको औचित्य समाप्त भइसकेको भन्दै यस्तो निर्देशन दिएको उनी निकट स्रोतले जनाएको छ। कोइराला पक्षबाट वर्तमान सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्द्री पाण्डे, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी सहभागी थिए।

कोइराला निकट एक नेताका अनुसार, उनले फोनमार्फत नै मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएका हुन्। “शेखर दाइले आफ्नो पक्षका सबै मन्त्रीलाई राजीनामा दिन भन्नुभएको छ,” ती नेताले भने, “उहाँको निर्देशनअनुसार मन्त्रीज्यूहरूले राजीनामाको तयारी गरिरहनुभएको छ।”

प्रकाशित : 9 September, 2025

प्रतिक्रिया दिनुहोस्