सर्वोच्चमा खुला आकाशमुनि पाल राखेर शुरु भयो सुनुवाइ

काठमाडौं । असोज २, बिहान साढे ११ बजे, घाम चर्किंदै थियो । गएरातिको झरीले भुईंमा पानीको आहाल बनेको थियो । आगजनीपछिको धुलो र पानी मिसिँदा कालो हिलोको नराम्रो गन्ध पालभित्र फैलियो ।
अदालतका कर्मचारीहरूले अगाडी एउटा कुर्सी र टेबल, छेवैमा अर्को सानो कुर्सी र टेबुल अनि ठिक सामुन्ने एउटा कुर्सी र टेबुल राखेका थिए । पछाडीपट्टि लहरै तीनवटा बेञ्च मिलाएर राखिएको थियो ।
सर्वोच्च अदालतको क्यान्टिनको सामुन्ने खडा गरिएको पालभित्र हप्प गर्मी थियो । करिब साढे ११ बजेतिर अधिवक्ता विरेन्द्र पाठक पसिना पुछ्दै त्यही पालभित्र छिरे अनि मुद्दाको फाइल पढ्न थाले ।
करिब पौने ११ बजेतिर एक सहयोगीका साथ न्यायाधीश सपना प्रधान मल्ल पालभित्र छिरिन् । अदालतका कर्मचारीहरू र कानून व्यवसायी जर्याकजुरुक उठे र उनलाई नमस्कार गरे । पालबाहिर रमिता हेर्नेको ताँती थियो । त्यसपछि उनले पालभित्रै बसेर मुद्दाको सुनुवाइ थालिन् ।
२४ भदौको आगजनीपछि खरानी बनेको सर्वोच्च अदालतले ९ दिनपछि सांकेतिक रुपमा भएपनि न्यायिक कामकारबाही शुरु भएको हो ।
आगजनीबाट बचेका केही कुर्सी र टेबुलहरू र एउटा त्रिपालको जोहो गरेर सर्वोच्च अदालतले खुला आकाशमा खडा गरिएको पालभित्र इजलास चलाएको हो ।
सामग्रीहरू जसरी जोरजाम गरिएको थियो कि त्यही बेला बेसरी पानी परेको भए इजलासमा रहेका न्यायाधीश र कागजात नै झरी र बाछिटाले भिज्ने अवस्था थियो । आधाजस्तो ह्वाङ्ग बनेको इजलासमा दुईतिरबाट खटिएका सुरक्षाकर्मीहरूले जसोतसो सुरक्षा दिइरहेका थिए ।
केहीबेरमा त्यहाँ अधिवक्ताहरू कमलेश द्विवेदी र मोहना अन्सारी छिरे र बेञ्चमा बसेर फाइल पल्टाउन थाले । न्यायाधीश कुमार रेग्मी इजलासमा आए, एक इजलास अधिकृत आइन् र अर्कोतिरको कुर्सीमा बसिन् । उनीहरू आउनुअघि सर्वोच्च अदालतको अभिलेख रहने एनेक्स भवनमा एकै ठाँउमा भेला भएका न्यायाधीशहरूले गोला प्रक्रियाबाट इजलास छानेका रहेछन् ।
न्यायाधीश रेग्मी इजलासमा आइसकेपछि उनीहरूले अर्को बन्दीप्रत्यक्षीकरणको निवेदन पेश गरे, र न्यायाधीशले संक्षिप्त सुनुवाइपछि नोटकपिमा केही लेखे र उठे । करिब आधा घण्टाको अवधिमा दुईवटा इजलास उठ्यो ।
खासमा बिहीबार सर्वोच्च अदालतमा दुईवटा एकल इजलास सञ्चालन भएको हो, तर ठाँउको अभावले शुरुमा एउटा एकल इजलास बसेर फेरि त्यहीँ नै अर्को इजलासले मुद्दाको संक्षिप्त सुनुवाइ गरेको हो ।
ठाँउ र अरु पूर्वाधारको अभावले सर्वोच्च अदालतले अहिलेलाई बन्दीप्रत्यक्षीकरण र केही महत्त्वपूर्ण बाहेक अरु मुद्दाको सुनुवाइ हुन नसक्ने भनेको छ ।
आगजनीले गर्दा अदालतका सबैजसो फाइलहरू जलेका छन् । आगोले सूचना–प्रविधि प्रणालीको सर्भरमा क्षति पुगेकाले अनलाइनसँग सम्बन्धित सबैजसो कामहरू अवरुद्ध छन् ।