कर्णाली प्रदेश सरकारले पनि मनाए संविधान दिवस

काठमाडौं । असोज ३ , संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ कर्णाली प्रदेश सरकारले पनि मनाएको छ । संविधान जारी भएको १० वर्षे अवसरमा प्रदेश सरकारले शुक्रबार राजधानी वीरेन्द्रनगरमा औपचारिक कार्यक्रम गरी दिवस मनाएको हो ।
कार्यक्रममा प्रदेश प्रमुख यज्ञराज जोशीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा मुख्यमन्त्री यामलाल कँडेल, पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही, सभामुख नन्दा गुरुङ, सबै दलका सांसद, कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
पूर्वमुख्यमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्मा भने कार्यक्रममा सहभागी भएनन् ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा बिहान साढे ७ बजे राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकबाट दिवस झल्किने ब्यानर प्लेकार्ड, ब्यान्ड बाजासहित प्रभातफेरी गरिएको थियो । त्यस लगतै प्रदेश रंगशालास्थित कभर्ड हलमा औपचारिक कार्यक्रम गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले संविधान प्रदत्त नागरिक अधिकार कार्यान्वयन गर्न तीनै तहका सरकार प्रयासरत रहेको बताए ।
उनले भ्रष्टाचार नियन्त्रण, सुशासन र स्थिर सरकारको मागसहित सडकमा आएको जेनजी पुस्ताको आन्दोलनपछि उत्पन्न परिस्थितिप्रति चिन्ता व्यक्त गरे ।