मलेसिया, कतार र साउदीले पनि नेपालीलाई भिसामा कडाइ

काठमाडौं । असोज ६, युनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपालीलाई भिसामा कडाइ गरेसँगै मलेसिया सहितका देशले पनि कडाइ गर्न थालेका छन् ।
२३ र २४ भदौमा नेपालमा भएको जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति मध्यनजर गर्दै यूएईले १५ सेप्टेम्बरदेखि भिजिट र वर्किङ भिसामा कडाइ गर्दै आएको छ । अहिले यूएईसँगै मलेसिया, साउदी अरब, कतार लगायत देशले समेत भिसा दिन कडाइ गर्न थालेका हुन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुन्छादोर्जे डिम्दोङले मलेसिया सहित अन्य खाडी देशले समेत भिसा दिन कडाइ गर्न थालेको बताए ।
यूएईपछि मलेसिया, कतार, साउदी लगायत देशले समेत सहज भिसा दिन छाडेको उनको भनाइ छ । ‘दुईरतीन दिनयता अनेकन कागजात मागिरहेका छन् । प्रहरी रिपोर्ट पनि तत्कालको मागिरहेका छन् । कतिपयको रिजेक्ट पनि भइरहेको छ,’ डिम्दोङले भने ।
यूएईले भिजिट भिसामा पूर्णरूपमा रोक लगाएको छ भने वर्किङ भिसामा समेत कडाइ गर्दै आएको छ । जेनजी आन्दोलनपछि जेलबाट भागेका कैदीहरू आफ्नो देशमा पस्न सक्नेतर्फ सचेत हुँदै यूएईले भिसामा कडाइ गरेको जनाइएको छ । तर, यूएईले यसबारे कुनै आधिकारिक जानकारी भने गराएको छैन ।
यूएईले आन्तरिक व्यवस्थापन कारण देखाउँदै भिसामा रोक तथा कडाइ गरेको समेत भन्ने गरिएको छ । त्यससँगै सुरक्षा चुनौतीका कारण समेत रोक लगाएको यूएईका व्यवसायीहरूले नेपाली व्यवसायीहरूलाई जानकारी गराएका छन् ।
यूएईपछि मलेसिया, साउदी र कतारले समेत भिसामा कडाइ गरेको मेननपावर व्यवसायीहरूको भनाइ छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मलेसिया, साउदी र कतारले समेत भिसामा कडाइ गरेका छन् ।