आज ४ जना मन्त्री थपिए पछि मन्त्रीमण्डल आठ सदस्यीय बन्यो

सहयात्रा टिभी

काठमाडौं । असोज ६, नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले कानून न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हा, कृषि तथा पशुपक्षी विकासमन्त्री मदन परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई शपथ गराउनुभएको हो ।

प्रधानमन्त्री सुशीला कार्कीले चार जना मन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्नुभएको थियो । यसअघि अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले शपथ ग्रहणसहित पदभार ग्रहण गरिसक्नुभएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमण्डलमा हेरफेरसमेत गर्नुभएको छ । अर्थमन्त्री खनाललाई सङ्घीय मामिला मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ भने गृहमन्त्री अर्याललाई दिइएको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी नवनियुक्त मन्त्री सिन्हालाई दिइएको छ । यसअघि चार सदस्यीय मन्त्रिपरिषद्‍मा आज चार जना थपिएपछि आठ सदस्यीय भएको छ ।

 

प्रकाशित : 22 September, 2025

प्रतिक्रिया दिनुहोस्