जेनजी आन्दोलनका घटनामा जाँचबुझ आयोगको प्रतिवेदनपछि मात्र कारबाही : गृह मन्त्रालय

सहयात्रा टिभी

काठमाडौं । असोज १०, राष्ट्रहित, सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राख्दै भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगले बिहीबारदेखि आफ्नो काम सुरु गरेको छ।

गृह मन्त्रालयका अनुसार, जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम गठित यस आयोगले प्रदर्शनका क्रममा काठमाडौँलगायत देशका विभिन्न भागमा भएका घटनाहरूको यथार्थ छानबिन गर्नेछ। आयोगलाई क्षतिको विवरण संकलन गर्ने, सम्बन्धित सूचना तथा निवेदनहरू ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका लागि सरकारलाई सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ।

मन्त्रालयले आयोगको प्रतिवेदन प्राप्त भएपछि त्यसैका आधारमा दोषी देखिएकाहरूमाथि कानूनी कारबाही अगाडि बढाइने जनाएको छ।

साथै, आयोगको कार्यक्षेत्रभित्र पर्ने विषयमा तत्कालका लागि सरकारका अन्य नियमित संयन्त्रहरूबाट अनुसन्धान तथा कारबाही अघि नबढाइने तर अन्य गैरकानूनी गतिविधिमाथि भने कानूनबमोजिम कारबाही जारी रहने गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित : 26 September, 2025

प्रतिक्रिया दिनुहोस्