पूर्वराजाको दशैं सन्देश: अब बिगार्ने होइन, देश सपार्नेतिर लागौं

सहयात्रा टिभी

काठमाडौं । असोज १२ , दशैंको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले अब देश बिगार्ने र भत्काउने काम बन्द गरेर सपार्ने र नवनिर्माणको बाटोमा अघि बढ्नुपर्ने बेला आएको बताएका छन्। उनले देशलाई भूराजनीतिक चक्रव्यूहबाट जोगाउँदै नयाँ पुस्ताको चाहनालाई राज्यले समेट्नुपर्नेमा जोड दिएका छन्।

आफ्नो सन्देशमा उनले नेपालले कुनै पनि देशमाथि परनिर्भर नभई र भूराजनीतिक दाउपेचमा नपरी आफ्नो भविष्यको बाटो आफैं तय गर्नुपर्ने बताएका छन्। “कुनै परनिर्भरता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफैं तय गर्ने सामर्थ्य राख्दै अखण्ड नेपाललाई नवनिर्माण गर्नु परेको छ,” उनको सन्देशमा उल्लेख छ।

पूर्वराजा शाहले राज्य व्यवस्थाले नयाँ पुस्ताको इच्छा र आकांक्षालाई अनिवार्य रूपमा समेट्नुपर्ने धारणा राखे। उनले युवा पुस्तामा रहेको देशभक्ति, ऊर्जा र नवीन सोचले मात्र देशलाई आत्मनिर्भर र समृद्ध बनाउन सक्ने भन्दै समयको यो मागलाई बुझ्न आग्रह गरे। साथै, विकसित हुँदै गएको आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई पनि राज्यले ग्रहण गर्नुपर्नेमा उनको जोड थियो।

देशमा लामो समयदेखि बिगार्ने, भत्काउने र जलाउने जस्ता नकारात्मक काममा नै राज्यका प्रयासहरू केन्द्रित भएकोमा चिन्ता व्यक्त गर्दै उनले अबको बाटो निर्माण र सुधारको हुनुपर्ने स्पष्ट पारे। “अब बिगार्ने होइन, सपार्नेतिर हाम्रा कार्यक्रम अघि बढ्नुपर्दछ,” शाहले भने।

प्रकाशित : 28 September, 2025

प्रतिक्रिया दिनुहोस्