नेपालले रच्यो अर्को इतिहास, वेस्ट इन्डिजविरुद्धको पहिलो द्विपक्षीय शृंखला जित्यो

सहयात्रा टिभी

काठमाडौं । असोज १६, नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिजविरुद्धको टी-२० शृंखला एक खेल अगावै जितेर ऐतिहासिक सफलता हासिल गरेको छ । सोमबार दुबईको शारजाह क्रिकेट रंगशालामा भएको दोस्रो खेलमा नेपालले ९० रनको फराकिलो जित निकाल्दै तीन खेलको शृंखलामा २-० को अग्रता बनाएको हो ।

यो जितसँगै नेपालले पहिलो पटक आईसीसीको पूर्ण सदस्य (टेस्ट राष्ट्र) को टोलीविरुद्ध द्विपक्षीय शृंखला जितेर नयाँ कीर्तिमान बनाएको छ । शनिबार भएको पहिलो खेलमा पनि नेपालले रोमाञ्चक जित हासिल गरेको थियो ।

सोमबारको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रनको योगफल तयार पारेको थियो । नेपालको सुरुवात कमजोर रहे पनि मध्यक्रममा आसिफ शेख र सन्दीप जोराले शतकीय साझेदारी गर्दै टोलीको इनिङ्स उकासेका थिए । आसिफले ४७ बलमा अविजित ६८ रन बनाए भने सन्दीपले ३९ बलमा ५ छक्का र ३ चौकासहित ६३ रनको विस्फोटक पारी खेले ।

१७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज नेपाली बलर र फिल्डरसामु निरीह देखियो । नेपालको कसिलो बलिङ र उत्कृष्ट फिल्डिङका अगाडि वेस्ट इन्डिजले १७.१ ओभरमा सबै विकेट गुमाएर ८३ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि पुनरागमन गरेका मोहम्मद आदिल आलमले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा २४ रन खर्चिए । यस्तै, कुशल भुर्तेलले ३ तथा दीपेन्द्रसिंह ऐरी, करण केसी र ललित राजवंशीले समान एक-एक विकेट लिए ।

खेलपछि कप्तान रोहित पौडेलले शृंखला जित्दा खुसी लागेको र यो जितले विश्व क्रिकेटमा नेपालको क्षमता प्रदर्शन गरेको बताए । “यो हाम्रो लागि महत्वपूर्ण शृंखला थियो । हामीमा धेरैको नजर छ र यो जितले हाम्रो पछिल्ला वर्षहरूको मिहिनेत प्रमाणित गरेको छ,” उनले भने ।

यसअघि नेपालले एसोसिएट राष्ट्रहरू हङकङ, मलेसिया, यूएई, अमेरिका, नेदरल्याण्ड्स र केन्यासँग मात्र द्विपक्षीय शृंखला खेलेको थियो ।

अब शृंखलाको अन्तिम तथा तेस्रो खेल मंगलबार हुनेछ । उक्त खेलमा जित हासिल गरेमा नेपालले तीन वा सोभन्दा बढी खेलको शृंखलामा पहिलो पटक ‘क्लिनस्वीप’ गरेर अर्को इतिहास रच्नेछ ।

प्रकाशित : 30 September, 2025

प्रतिक्रिया दिनुहोस्