किन मनाउने विजयादशमी ? के छ यसको महत्त्व ?

काठमाडौं । असोज १६, देशभर आज विजयादशमी पर्व मनाइँदै छ । दशैँ नेपालीहरुको महान चाड हो । असोज शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत गरि यो पर्व मनाइन्छ ।
घटस्थापनामा जमरा राखी नवमीसम्म दुर्गा सप्तशती (चण्डी पाठ) गरी नव दुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहित प्रसादका रुपमा टीका र जमरा ग्रहण गरिन्छ ।
असत्यमाथि सत्यको जित हुन्छ भन्ने मनोसामाजिक सन्देश बोकेको यो चाडको आफ्नै विशिष्ट महत्व छ । धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक जुनसुकै कोणबाट दशैंको महिमा गाउन सकिन्छ ।
वर्षदिनमा आफन्त, इष्टमित्रबीच सौहाद्रपूर्ण सम्बन्ध स्थापित गर्ने मेलो हो यो । दशैंले ठूलाबडा, मान्यजनप्रति श्रद्धा भाव राख्नुपर्छ भन्ने सिकाउँछ । यतिबेला दुर्गा पूजा गरिन्छ । दुर्गा शक्तिकी प्रतीक । हामी कहाँ तिहारमा लक्ष्मी अर्थात् धनकी देवी, सरस्वती पूजा अर्थात् विद्याकी देवी र दशैंमा दुर्गाको पूजा गरिन्छ । वास्तवमा, यी तीन कुरा अर्थात् शक्ति, विद्या र धन हाम्रो जीवनका लागि महत्वपूर्ण हुन्छन् ।