मेची राजमार्गको वैकल्पिक सडक पनि सञ्चालनमा आउन सकेन, जोगमाई खोलामा डाइभर्सन बनाइँदै

सहयात्रा टिभी

काठमाडौं । असोज २८, मेची राजमार्गमा पहिरो खसेर अवरुद्ध भएको १० दिन बितिसक्दा पनि इलाम जिल्ला छिमेकी झापासँग सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएको छ । मुख्य राजमार्ग तत्काल खुल्ने सम्भावना नदेखिएपछि वैकल्पिक सडक सञ्चालन गर्ने प्रयास पनि सफल हुन नसक्दा यात्रु र यातायात व्यवसायीले चरम सास्ती भोगिरहेका छन् ।

इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड जटिल भू-संरचनाका कारण तत्काल खुलाउन नसकिने सडक डिभिजन कार्यालय, इलामले जनाएको छ । यसले गर्दा झापा, इलाम, पाँचथर र ताप्लेजुङका हजारौँ यात्रुको आवतजावत ठप्प भएको छ ।

राजमार्गको विकल्पका रूपमा तिल्केनी–सिमलगोलाइ सडक सञ्चालन गर्ने तयारी गरिए पनि सो खण्डमा पर्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण कार्य सम्पन्न हुन सकेको छैन । सडक डिभिजन प्रमुख पवन भट्टराईका अनुसार, खोलामा पानीको बहाव उच्च हुनु र डाइभर्सनका लागि आवश्यक ह्युमपाइप अभाव हुनु मुख्य समस्या हो । “हामीले पाँचथरबाट ह्युमपाइप मगाएका छौँ, त्यो मंगलबारसम्म आइपुग्नेछ,” उनले भने, “डाइभर्सन निर्माणका लागि चारवटा स्काभेटर परिचालन गरिएको छ तर ह्युमपाइप नहुँदा केही दिन ढिला हुने देखिन्छ ।”

यो वैकल्पिक मार्ग पनि गत असोज १८ गते आएको बाढीले जोगमाई खोलामाथि गत असारमा मात्रै बनेको बेलीब्रिज बगाएपछि अवरुद्ध भएको थियो । इलाम सदरमुकामको तिल्केनीबाट मेची राजमार्गको गोदक जोड्ने यो वैकल्पिक सडक सञ्चालनका लागि प्रमुख विकल्प मानिएको छ ।

जिल्ला प्रशासन कार्यालय, इलामले आइतबारदेखि साना सवारीसाधनका लागि तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल सडक खुलाएको छ । तर, प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार, यो सडक साँघुरो र धेरै मोड भएका कारण ठूला तथा मालवाहक सवारीसाधन चलाउन असम्भव छ । “ठूला सवारीका लागि उपयुक्त वैकल्पिक मार्ग पहिचान हुन सकेको छैन,” उनले भनिन्, “हामी सडक डिभिजनसँग निरन्तर समन्वयमा छौँ र सकेसम्म छिटो सडक खुलाउने प्रयास गरिरहेका छौँ ।”

प्रकाशित : 14 October, 2025

प्रतिक्रिया दिनुहोस्