पूर्वराजदूत सुवेदीको संयोजकत्वमा जनयुग पार्टी गठन

काठमाडौं । असोज २८, पूर्वराजदूत नवराज सुवेदीले ‘जनयुग’ नामको नयाँ पार्टी गठन गरेका छन् । यही असोज २४ र २५ गते काठमाडौंमा सम्पन्न भेलाले सुवेदीको संयोजकत्वमा नयाँ पार्टी गठन गरेको हो ।
त्यसको जानकारी सुवेदीले असोज २७ गते प्रेस विज्ञप्ति जारी गरी दिएका छन् । विज्ञप्तिमा लेखिए अनुसार बन्दसत्रले सुवेदीको संयोजकत्वमा ३२ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । पार्टीको सचिवमा विमल पोखरेल छन् । बाँकी सबै केन्द्रीय सदस्यहरु छन् ।
सुवेदी जनमोर्चाबाट निर्वाचित पूर्व सांसद हुन् । पछि उनी प्रचण्ड नेतृत्वको माओवादी पार्टीमा आए । माओवादी विभाजित हुँदा उनी बाबुराम नेतृत्वको नयाँ शक्तिमा लागे । उपेन्द्र–बाबुराम नेतृत्वको जसपामा पनि थिए उनी । त्यतिबेला जसपा सरकारमा रहँदा उनी साउदी अरबका लागि नेपाली राजदूत समेत नियुक्त भएका थिए ।
अहिले उनले नयाँ पार्टी गठन गरेका हुन् । देशको राजनीतिमा सत्ताकेन्द्रित गठबन्धनबाट निर्माण गरिएको निरंकुशता, तानाशाही, स्वेच्छाचारिता, भ्रष्टाचार, कुशासनले देश गम्भीर राजनीतिक संकटमा फस्दै गएको अवस्थालाई हल गर्नका लागि सत्ताधारी तथा मुख्य पार्टीहरु पूर्णरुपमा असफल भएकाले नयाँ दल गठन गरिएको सुवेदीले बताए ।