संसद विघटनविरुद्ध सभामुखको कदम : सर्वोच्च जाने तयारीबारे दलहरूसँग निर्णायक छलफल

सहयात्रा टिभी

काठमाडौं । असोज २९, प्रतिनिधिसभा विघटनविरुद्ध कानुनी उपचार खोज्ने तयारीमा रहेका सभामुख देवराज घिमिरेले राजनीतिक दलहरूसँग निर्णायक छलफल सुरु गरेका छन्। सभामुख घिमिरेले सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा ११ राजनीतिक दलका नेताहरूलाई बोलाएर संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालत जाने वा नजाने विषयमा राय लिन सुरु गरेका हुन्।

सभामुखको सचिवालयका अनुसार, छलफलका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूलाई बोलाइएको छ। बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), र नेकपा (एकीकृत समाजवादी) सहभागी छन्। त्यसैगरी, जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), र नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रतिनिधिसभा विघटन हुनुअघिका प्रमुख सचेतकहरू बैठकमा उपस्थित छन्।

संसद् विघटनविरुद्ध सर्वोच्च अदालत जाने गृहकार्यमा जुटेका सभामुख घिमिरेले अन्तिम निर्णय लिनुअघि दलहरूको साझा धारणा बनाउन यो बैठक आयोजना गरेका हुन्। आजको छलफलको निष्कर्षका आधारमा सभामुखले संसद् पुनर्स्थापनाका लागि कानुनी बाटो अपनाउने वा नअपनाउने भन्नेबारे टुङ्गोमा पुग्ने बताइएको छ।

प्रकाशित : 15 October, 2025

प्रतिक्रिया दिनुहोस्