चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ मजदुरको मृत्यु, २ घाइते

काठमाडौं । असोज २९, चितवनको रत्ननगरमा आज बिहान एक दाना उद्योगको पर्खाल भत्किँदा ३ जना मजदुरको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । रत्ननगर नगरपालिका वडा नं. १२ स्थित शान्तिकुञ्ज टोलमा रहेको किसान दाना उद्योगको भित्री पर्खाल भत्किँदा सो घटना भएको हो ।
इलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार मृत्यु हुनेमा चितवनको खैरहनी नगरपालिका-२ का ४५ वर्षीय शुकराम दराई, गोरखा घर भई हाल रत्ननगर-१२ बस्दै आएका ५४ वर्षीय रेशम दराई र रत्ननगर-१२ निवासी ४५ वर्षीय कमल गुरुङ रहेका छन् । पर्खालले पुरिएर गम्भीर घाइते भएका उनीहरुको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, दुर्घटनामा पर्सा जिल्ला घर भई हाल रत्ननगर-१२ मा बस्ने ३९ वर्षीय जितेन्द्र महतो र ४० वर्षीय अंकजप्रसाद थारु घाइते भएका छन् । उनीहरुको पनि चितवन मेडिकल कलेजमै उपचार भइरहेको छ ।
प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास भट्टले उद्योगभित्र पार्टिसनका लागि लगाइएको करिब १० इन्च बाक्लो इँट्टाको पर्खाल एक्कासि भत्किएर काम गरिरहेका मजदुरहरुलाई पुरेको जानकारी दिए । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको उनले बताए ।