विभिन्न १० जलविद्युत् आयोजनामा स्थानीयले गरे अवरोध

सहयात्रा टिभी

काठमाडौं । असोज २९, निःशुल्क सेयर माग्दै निर्माणाधीन र निर्माणमा जान लागेका विभिन्न १० जलविद्युत् आयोजनामा स्थानीयले अवरोध गरेका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बुधबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो । इप्पानका अनुसारसिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्माणाधीन र निर्माणमा जान लागेका जलविद्युत आयोजनामा स्थानीयले अवरोध गरेका छन् ।

साथै देशका अन्य आयोजनामा समेत १० प्रतिशत निःशुल्क सेयर लगायतका माग राखेर स्थानीयबासीले आयोजनाको निर्माण कार्यमा अवरोध गरेको इप्पानले जनाएको छ । कतिपयले समयमै सेयर जारी नगरेको भन्दै आयोजनामा अवरोध गर्न थालेका छन् ।

धितोपत्र बोर्डले समयमै आईपीओ निष्कासनमा स्वीकृति नदिएर गम्भीर समस्या भोगिरहेका ऊर्जा उत्पादक कम्पनीलाई अहिले समयमै आईपीओ नदिएको भनेर स्थानीयले धम्क्याउने अवस्था सिर्जना भएको छ ।

समयमै आईपीओ जारी नगर्दाको कारण पनि गैरकानुनी रुपमा निःशुल्क सेयर माग्नेको मनोबल बढेको इप्पानले बताएको छ ।

प्रत्येक आयोजनालाई शान्ति सुरक्षा कायम हुने गरी सुरक्षाकर्मीहरुको व्यवस्थापन गर्न गृह मन्त्रालय, रक्षा मन्त्रालय, स्थानीय पालिका लगायतका सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरिएको छ ।

प्रकाशित : 15 October, 2025

प्रतिक्रिया दिनुहोस्