केही तत्वहरू निर्वाचन बिथोल्न सक्रिय भएको गृहमन्त्री अर्यालको आरोप

सहयात्रा टिभी

काठमाडौं । असोज ३०, गृहमन्त्री ओमप्रकाश अर्यालले केही तत्वहरू निर्वाचनको बिथोल्न सक्रिय भएको आरोप लगाएका छन् ।

जिल्ला समन्वय समिति भक्तपुरको कार्यलय अनुगमनको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचनको माहोल बिगार्न लाग्नेहरूलाई सरकारले सम्झाइबुझाइ गर्ने पनि बताए । सम्झाउँदा नमानेमा सरकारले आफ्नो ढंगबाट काम गर्ने उनको भनाइ छ ।

‘कोही कोही एलिमेन्टले भड्काउन खोजेको देखिन्छ । अब त्यो एलिमेन्टहरूलाई सकभर सम्झाइबुझाइ नै गर्ने हो,’ गृहमन्त्री अर्यालले भने, ‘त्यो एलिमेन्टहरूले भड्काउन नै खोजेको हो भने सरकारले त्यतिखेर आफ्नो ढंगले काम गर्छ । निर्वाचन जसरी नी गराउँछ, तोकिएकै मितिमा गराउँछ ।’

वर्तमान सरकार स्वतन्त्र र निष्पक्ष ढंगबाट निर्वाचन गराउनको लागी बनेको उल्लेख गर्दै उनले तोकिएकै मितिमा सरकारले निर्वाचन गराउने दाबी समेत गरे ।

प्रहरी कर्मचारी लगायतको मनोबल उकास्ने काम पनि सरकारले गरिरहेको उनले जिकिर गरे ।

प्रकाशित : 16 October, 2025

प्रतिक्रिया दिनुहोस्