अनमोल स्टारर ‘जेरी अन टप’ आजदेखि प्रदर्शनमा, नेपाली पर्दामा सगरमाथाको कथा

काठमाडौं । असोज ३१, विश्वको सर्वोच्च शिखर सगरमाथाको कथालाई पहिलोपटक मुख्य विषय बनाएर निर्माण गरिएको नेपाली चलचित्र ‘जेरी अन टप’ आजदेखि देशभर प्रदर्शनमा आएको छ। सगरमाथा आरोहणको साहसिक यात्रा र त्यस क्रममा विकसित हुने प्रेमकथामा आधारित यो चलचित्रले नेपाली सिनेमामा एक नयाँ प्रयासको सुरुवात गरेको छ।
हलिउडमा सगरमाथाबारे चलचित्र र वृत्तचित्र बनिसकेको भए पनि नेपाली स्रोत, साधन र बजारलाई ध्यानमा राख्दै यसको कथालाई पर्दामा उतार्नु मुख्य चुनौती रहेको अभिनेता अनमोल केसीले बताएका छन्। दर्शक प्रतिक्रिया बुझ्न चलचित्र भवन पुगेका उनले भने, “प्राविधिक रूपमा सगरमाथामा छायाङ्कन गर्न सहज थिएन, तर सम्पूर्ण टिमको कडा मेहनतले हामीले यो चलचित्र तयार गरेका छौँ।”
चलचित्रमा सगरमाथा आरोहीको भूमिकामा देखिएका अभिनेता केसी र आरोहण गाइडको भूमिकामा रहेकी अभिनेत्री जसिता गुरुङले आफ्नो पात्रलाई जीवन्त बनाउन एक महिना लामो प्रशिक्षण लिएका थिए। शेर्पाहरूको प्रत्यक्ष निगरानीमा काम गरिएको बताउँदै केसीले भने, “सगरमाथाको सुन्दरतासँगै कलाकारको प्रस्तुति स्वाभाविक लागोस् भनेर हामीले सक्दो मेहनत गरेका छौँ। यो चलचित्रले पारिवारिक प्रेम कथासँगै हाम्रै देशको गौरवलाई प्रस्तुत गरेको छ।”
अभिनेत्री गुरुङले हिमाली परिवेशमा हुर्किएकी युवतीको भूमिकालाई न्याय गर्न आफूले विशेष तयारी गरेको र चलचित्र प्रचार सामग्रीमा देखिएभन्दा अझ भव्य रहेको बताइन्। त्यस्तै, अर्की अभिनेत्री आँचल शर्माले करिब ११ वर्षअघि प्रदर्शन भएको सफल चलचित्र ‘जेरी’को नामसँग जोडिएकाले ‘जेरी अन टप’ले पनि नयाँ पुस्तालाई हलसम्म आकर्षित गर्ने विश्वास व्यक्त गरिन्।
चलचित्रका प्रस्तुतकर्ता सरोज न्यौपानेका अनुसार, युवापुस्ताको कथामा नेपालको सौन्दर्यलाई मिसाएर एउटा स्तरीय चलचित्र बनाउने प्रयास गरिएको हो। “चलचित्रले सगरमाथा आरोहणका घटनाक्रम देखाएकाले यसले देशको पर्यटनमा टेवा पुर्याउने र नेपाली चलचित्रप्रति गौरव गराउने अपेक्षा छ,” उनले भने।
सुयोग गुरूङद्वारा निर्देशित ‘जेरी अन टप’मा अनमोल केसी, जसिता गुरुङ र आँचल शर्माका साथै भुवन केसी, केदार घिमिरे ‘माग्नेबुढा’, उषा खड्गीलगायतका कलाकारहरूको अभिनय रहेको छ। अनन्या फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रको कथा हेमराज विसीले लेखेका हुन्।