ओलीको ‘चुनाव बहिष्कार’ को घोषणाप्रति राष्ट्रपति असन्तुष्ट

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १, राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सहभागी नहुने भनी गरेको घोषणाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । शनिबार बौद्धिक समुदायका अगुवाहरूसँग शीतलनिवासमा भएको छलफलका क्रममा राष्ट्रपति पौडेलले एमालेको उक्त निर्णयप्रति चिन्ता र असन्तुष्टि जनाएका हुन् ।

एमाले अध्यक्ष ओलीले शुक्रबार पार्टी केन्द्रीय कमिटी बैठकको समापनमा आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनमा आफ्नो पार्टी सहभागी नहुने घोषणा गरेका थिए । त्यसको भोलिपल्टै राष्ट्रपति पौडेलको यस्तो प्रतिक्रिया आएको हो।

छलफलमा सहभागी एक बौद्धिक अगुवाले भने, “बैठकमा एमालेको भूमिका र पछिल्लो निर्णयबारे कुराकानी भयो। राष्ट्रपतिज्यू एमालेको शुक्रबारको निर्णयबाट निकै असन्तुष्ट देखिनुहुन्थ्यो।”

राष्ट्रपति पौडेलले एमाले अध्यक्ष ओलीबाहेक पार्टीका अन्य नेताहरू भने निर्वाचनको पक्षमा रहेको आफूले पाएको सङ्केत समेत गरेका थिए । छलफलमा सहभागी अर्का एक सदस्यले राष्ट्रपतिको भनाइ उद्धृत गर्दै भने, “राष्ट्रपतिज्यूले एमाले अध्यक्षबाहेकका नेताहरूसँग पनि आफ्नो कुराकानी भएको र उहाँहरूले निर्वाचनमा जानुपर्ने धारणा राखेको जानकारी हामीलाई दिनुभयो।”

राष्ट्रपति पौडेलले ओलीकै सिफारिसमा आफूले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको पनि छलफलका क्रममा बताएका थिए ।

प्रकाशित : 18 October, 2025

प्रतिक्रिया दिनुहोस्