आज नरक चतुर्दशी : कुकुर तिहार

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ३, यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज घरघरमा मानवको सबैभन्दा बफादार साथी मानिने कुकुरलाई पूजा गरी मीठा परिकार खुवाएर कुकुर तिहार मनाइँदैछ। यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र धनधान्यकी देवी लक्ष्मीको पूजा एकै दिन परेको छ, जसले गर्दा आजको दिन श्रद्धा, भक्ति र उल्लासको संगम बनेको छ।

 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, सामान्यतया यमपञ्चकको दोस्रो दिन पर्ने कुकुर तिहार यसपटक तेस्रो दिनमा परेको हो। धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार सूर्योदय कालमा चतुर्दशी तिथि भएको दिन नरक चतुर्दशी र कुकुर तिहार मनाउनुपर्ने शास्त्रीय विधान छ।

धार्मिक मान्यताअनुसार, कार्तिक कृष्ण चतुर्दशीमा कुकुरको पूजा गर्दा यमराजको ढोकामा द्वारपालका रूपमा रहने ‘श्याम’ र ‘सबल’ नामका कुकुरहरू प्रसन्न हुन्छन् र तिनले यमलोक जाँदा बाटो सहज बनाइदिन्छन्। महाभारतमा समेत धर्मराज युधिष्ठिरलाई स्वर्गको यात्रामा कुकुरले अन्तिमसम्म साथ दिएको प्रसंगले यसको महत्वलाई थप प्रस्ट पार्छ। कुकुरलाई आज्ञापालक र सुरक्षाको भरपर्दो प्रतीकका रूपमा लिइन्छ।

आजकै दिन बिहान अरुणोदयकालमा नदी, तलाउ वा तीर्थमा स्नान गरी दक्षिणतर्फ फर्काएर यमदीप बगाउने चलन पनि छ, जसलाई ‘नरके बगाउने’ भनिन्छ। यसो गर्दा मृत्युपछि नरकको कष्ट भोग्नु नपर्ने विश्वास छ।

यसरी आज बिहान नरक स्नान र कुकुरको पूजाआराधनापछि साँझ ऐश्वर्य, धन र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी घरघरमा दीपावलीसहित लक्ष्मी भित्र्याइँदैछ।

प्रकाशित : 20 October, 2025

प्रतिक्रिया दिनुहोस्