गृहमन्त्रीले भागेको भनेर दाबी गरेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरबाटै सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ३, गृहमन्त्री ओमप्रकाश अर्यालले ‘देश छाडेर भागिसकेको’ भनी दाबी गरेका निवर्तमान ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का स्वदेशमै रहेको पुष्टि भएको छ। गृहमन्त्रीको दाबीको भोलिपल्टै सोमबार खड्का काठमाडौंस्थित आफ्नो जलेको निवासबाट सार्वजनिक भएका हुन्।

एक दिनअघि नयाँ पत्रिका दैनिकलाई दिएको अन्तर्वार्तामा गृहमन्त्री अर्यालले खड्का देशबाट भागिसकेको र अन्य केही नेताहरू पनि भाग्ने तयारीमा रहेको दाबी गरेका थिए। ‘तत्कालीन ऊर्जामन्त्री भागिसके। अरू पनि भाग्न खोज्दै छन्,’ अन्तर्वार्तामा अर्यालले भनेका थिए, ‘उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छन् कि भनेर हामी अध्ययन गरिरहेका छौं।’

तर, गृहमन्त्रीको दाबीलाई ठाडै चुनौती दिँदै खड्का सोमबार ‘जेनजी आन्दोलन’का क्रममा जलाइएको आफ्नै निवासबाट भिडियोमार्फत सार्वजनिक भए। देशका जिम्मेवार गृहमन्त्रीले तथ्यहीन र भ्रामक अभिव्यक्ति दिएको भन्दै खड्काको उपस्थितिले गृहमन्त्रीको सूचना संयन्त्र र विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको छ।

गृहमन्त्री अर्यालले ठूला नेताहरूमाथि छानबिन सुरु भएको र उनीहरूलाई विदेश भाग्नबाट रोक्न सरकार गम्भीर रहेको बताउने क्रममा खड्काको नाम लिएका थिए। तर, उनको दाबीको २४ घण्टा नबित्दै खड्का आफैं सार्वजनिक भएपछि गृहमन्त्रीको अभिव्यक्ति अपरिपक्व र गैरजिम्मेवारपूर्ण रहेको टिप्पणी हुन थालेको छ।

प्रकाशित : 20 October, 2025

प्रतिक्रिया दिनुहोस्