नेपालको ऊर्जामा छलाङ : लक्ष्मीपूजाको उच्च माग धान्दै भारतलाई बेच्यो १०१५ मेगावाट बिजुली

काठमाडौं । कात्तिक ४, यस वर्षको तिहारमा नेपालले विद्युत्मा आत्मनिर्भरताको बलियो सन्देश दिएको छ। लक्ष्मीपूजाको दिन देशभित्र हालसम्मकै उच्च विद्युत् माग सहजै व्यवस्थापन गर्दै नेपाल विद्युत् प्राधिकरणले भारततर्फ कीर्तिमानी विद्युत् निर्यात गरेको छ।
प्राधिकरणका अनुसार, आइतबार लक्ष्मीपूजाको साँझ ६:५० बजे देशभित्रको विद्युत्को उच्च माग (पिक डिमाण्ड) एक हजार ६५० मेगावाट पुगेको थियो। यो गत वर्षको लक्ष्मीपूजा (१६ कात्तिक) को दिन रेकर्ड गरिएको १,६०२ मेगावाटभन्दा ४८ मेगावाटले बढी हो।
तिहारमा उद्योग, कलकारखानाहरू बन्द हुने भएकाले यो माग विशुद्ध रूपमा घरायसी ग्राहकको भएको प्राधिकरणले जनाएको छ। चाडपर्वको झिलिमिलीले बढेको उच्च मागलाई देशभित्रकै विद्युत्गृहहरूबाट सफलतापूर्वक आपूर्ति गरिएको थियो।
नेपालले आफ्नो माग पूरा गरेर पनि पिक समयमा भारततर्फ १,०१५ मेगावाट विद्युत् निर्यात गर्न सफल भयो, जुन आफैँमा एक कीर्तिमान हो। गत वर्ष सोही समयमा जम्मा २५३ मेगावाट मात्र विद्युत् निर्यात भएको थियो। यसले नेपालको विद्युत् उत्पादन क्षमतामा भएको ठूलो वृद्धिलाई देखाउँछ।
निर्यातसहित समग्र प्रणालीको माग यस वर्ष २,६६५ मेगावाट पुगेको छ, जबकि गत वर्ष यो आँकडा १,८५५ मेगावाट मात्र थियो। यसैगरी, काठमाडौँ उपत्यकाको विद्युत् माग पनि गत वर्षको ३९० मेगावाटभन्दा बढेको प्राधिकरणले जनाएको छ।