‘आइरन लेडी’ सनेई तकाइची बनिन् जापानको प्रथम महिला प्रधानमन्त्री

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ४, जापानको राजनीतिमा एक ऐतिहासिक अध्याय थप्दै दक्षिणपन्थी नेतृ सनेई तकाइची देशको पहिलो महिला प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की सदस्य तकाइचीले जापानको दुवै सदनबाट बहुमत प्राप्त गर्दै प्रधानमन्त्री पदमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् ।

६४ वर्षीया तकाइची एक प्रखर दक्षिणपन्थी नेतृ हुन् र उनलाई जापानमा ‘आइरन लेडी’ को उपनामले चिनिन्छ । पूर्वप्रधानमन्त्री शिन्जो आबेका निकटस्थ सहयोगी मानिने तकाइचीले तेस्रो प्रयासमा यो ऐतिहासिक सफलता प्राप्त गरेकी हुन् । यसअघि उनी विभिन्न मन्त्रालयको नेतृत्व गरिसकेकी अनुभवी राजनीतिज्ञ हुन् ।

तकाइचीको सत्तारोहण यस्तो समयमा भएको छ, जतिबेला उनको पार्टी एलडीपीले पछिल्लो ५ वर्षमा चौथो पटक प्रधानमन्त्री परिवर्तन गरेको छ । पछिल्ला वर्षहरूमा पार्टी विभिन्न घोटालाका आरोपहरूबाट गुज्रिरहेको छ, जसले गर्दा पार्टीको छविमा समेत असर परेको छ ।

राजनीतिमा आउनुअघि उनी टेलिभिजन होस्टको रूपमा काम गर्थिन् र हेभी मेटल ड्रमरको रूपमा समेत उनको फरक पहिचान छ । उनको नेतृत्व क्षमताको प्रशंसा गर्दै अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई ‘एक धेरै सम्मानित र बुद्धिमान नेता’ को संज्ञा दिएका थिए ।

प्रधानमन्त्रीको रूपमा अब तकाइचीसामु अनेकौं चुनौतीहरू छन् । प्रमुख रूपमा देशको सुस्त अर्थतन्त्रलाई गति दिने, अमेरिका र जापानबीचको सम्बन्धलाई थप सुदृढ बनाउने र विभिन्न गुटमा विभाजित सत्तारुढ दललाई एकढिक्का बनाउने मुख्य जिम्मेवारी उनको काँधमा आएको छ ।

प्रकाशित : 21 October, 2025

प्रतिक्रिया दिनुहोस्