जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ४, सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका तथा ज्यान गुमाएका नागरिकका परिवारलाई राहत वितरण र निःशुल्क उपचारको प्रक्रियालाई तीव्रता दिएको छ। आन्दोलनका घाइतेहरूको उपचारमा हालसम्म एक अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ भने मृतकका परिवार र घाइतेहरूका लागि करोडौँ रुपैयाँ निकासा गरिएको छ।

गृह मन्त्रालयका अनुसार, मन्त्रिपरिषद्को गत असोज १२ गतेको निर्णयबमोजिम घाइतेहरूका लागि तत्काल भैपरी खर्चवापत ४८ लाख ५८ हजार रुपैयाँ निकासा गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको २,४२९ जना घाइतेको प्रारम्भिक विवरणका आधारमा प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले सो रकम वितरण गर्न थालिएको हो। पहिलो चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा रकम पठाइएको छ।

घाइतेहरूको सहज र प्रभावकारी उपचारका लागि सरकारले परिचयपत्र वितरण, विशेष ‘जेन-जी क्लिनिक’ सञ्चालन, निःशुल्क आवतजावत, र हटलाइन सेवासमेत व्यवस्था गरेको छ। हालसम्म २,८७६ परिचयपत्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ।

त्यसैगरी, भदौ ३० गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्दोलनमा ज्यान गुमाएका पहिचान खुलेका ५३ जना नागरिकका परिवारलाई प्रतिपरिवार १५ लाख रुपैयाँ (१० लाख आर्थिक सहायता र ५ लाख किरिया खर्च) का दरले राहत रकम पठाइएको छ। जसमध्ये ४९ परिवारले रकम बुझिसकेका छन् भने बाँकी ४ परिवारलाई बुझाउने प्रक्रिया जारी छ। यद्यपि, आन्दोलनको मौका छोपी कारागारबाट भाग्ने क्रममा मारिएका कैदीबन्दीका परिवारले भने यो सहायता पाउने छैनन्।

सरकारले सहिदहरूको सम्मानमा असोज १ गते राष्ट्रिय शोक मनाउँदै सार्वजनिक बिदा दिएको थियो भने काठमाडौँ उपत्यकामा ‘जेनजी जागरण स्मारक पार्क’ निर्माण गर्ने निर्णयसमेत गरेको छ, जसको कार्यान्वयन सहरी विकास मन्त्रालयले अघि बढाएको छ।

आन्दोलनका क्रममा भएको दमन र क्षतिको सत्यतथ्य पत्ता लगाउन पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा एक न्यायिक जाँचबुझ आयोग गठन गरिएको छ र आयोगले आफ्नो कामलाई तीव्रता दिएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी छन् भने गृहमन्त्री ओमप्रकाश अर्यालले घाइतेको दीर्घकालीन पुनर्स्थापनाका विषयमा गम्भीर छलफल भइरहेको बताएका छन्।

गृह मन्त्रालयको तथ्याङ्कअनुसार जेनजी आन्दोलनमा परी हालसम्म ७६ जनाको मृत्यु भएको छ। जसमा ३ प्रहरी, पहिचान खुलेका ५३ नागरिक, पहिचान नखुलेका १२ जना, कारागारबाट भाग्न खोज्दा मारिएका १० कैदी र एक विदेशी नागरिक रहेका छन्। मृतकहरूको सहिद घोषणाका लागि प्रहरी प्रतिवेदन र जिल्ला प्रशासन कार्यालयमार्फत विवरण संकलन कार्य जारी छ।

प्रकाशित : 21 October, 2025

प्रतिक्रिया दिनुहोस्