रसुवा नाकाको मितेरी पुल पुनर्निर्माण अन्तिम चरणमा
सहयात्रा टिभी
काठमाडौं । कात्तिक ५, बाढीले बगाएको नेपाल-चीन जोड्ने रसुवा नाकाको ल्हेन्दे खोलाको मितेरी पुल पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन ‘बेलिब्रिज’को मुख्य काम सम्पन्न भएसँगै सीमापार व्यापार पुनः सुचारु हुने आशा बढेको छ।

गत असार २४ गते आएको बाढीले पक्की पुल बगाएपछि अवरुद्ध बनेको यो नाका खुलाउन चीन सरकारले बेलिब्रिज निर्माणमा सहयोग गरेको हो। पुलको दुवैतर्फ जडान कार्य पूरा भए पनि बीचको भागमा देखिएको लचकतालाई हटाउन चिनियाँ प्राविधिक टोलीले खोलाको बीचमा थप पिलर निर्माण गरी पुललाई बलियो बनाउने काम गरिरहेको छ।
स्थलगत निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले निर्माण कार्यको गति हेर्दा आगामी कात्तिक १५ गतेसम्ममा पुल सञ्चालनमा आउनसक्ने अनुमान गरे । यद्यपि, चिनियाँ पक्षबाट सञ्चालनको आधिकारिक मिति भने प्राप्त भइनसकेको उनले स्पष्ट पारे ।
पुलको पुनर्निर्माणले गति लिएपछि स्थानीय व्यवसायीहरू उत्साहित भएका छन्। उनीहरूले पुल सञ्चालनमा आएसँगै रोकिएको व्यापार-व्यवसायले गति लिने र सहज हुने विश्वास व्यक्त गरेका छन्।
यसैबीच, प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले पुल सञ्चालनमा आउनासाथ आयातित सामग्रीको भन्सार प्रक्रियालाई छिटोछरितो बनाउन कर्मचारीहरू पूर्ण तयारी अवस्थामा रहेको जानकारी दिएका छन् ।


