युक्रेन युद्ध अन्त्य गर्न पुटिनलाई दबाब : ट्रम्पले लगाए रुसका दुई ठूला तेल कम्पनीमाथि नयाँ प्रतिबन्ध

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ६, युक्रेनमा शान्ति सम्झौताका लागि मस्कोलाई दबाब दिने उद्देश्यले अमेरिकाले रुसका सबैभन्दा ठूला दुई तेल कम्पनीहरू – रोसनेफ्ट र लुकोइलमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बुडापेस्टमा हुने भनिएको बैठक अनिश्चितकालका लागि स्थगित गरेको घोषणा गरेको भोलिपल्टै यो प्रतिबन्धको घोषणा भएको हो।

“जबजब म भ्लादिमिरसँग कुरा गर्छु, हाम्रो कुराकानी राम्रै हुन्छ तर त्यसको कुनै निष्कर्ष निस्कँदैन। कुरा अगाडि बढ्दै बढ्दैन,” राष्ट्रपति ट्रम्पले नेटोका महासचिव मार्क रुट्टेसँगको भेटपछि भने।

बुधबार मात्रै रुसले युक्रेनमाथि भीषण बमबारी गरेको थियो, जसमा बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको थियो।

अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले “पुटिनले यो अर्थहीन युद्ध अन्त्य गर्न अस्वीकार गरेकाले” नयाँ प्रतिबन्ध आवश्यक भएको बताए। उनले यी तेल कम्पनीहरूले क्रेमलिनको “युद्ध मेसिन” लाई आर्थिक सहयोग गरिरहेको आरोप लगाए।

“अब हत्या रोक्ने र तत्काल युद्धविराम गर्ने समय हो,” बेसेन्टले एक विज्ञप्तिमा भने।

राष्ट्रपति ट्रम्पले पुटिन शान्ति स्थापनाका लागि गम्भीर नभएको भन्दै आलोचना गरे र यो प्रतिबन्धले वार्तामा सफलता दिलाउन मद्दत गर्ने आशा व्यक्त गरे। “मलाई लाग्यो कि अब समय भयो। हामीले धेरै समय पर्खियौं,” ट्रम्पले भने। उनले यो प्रतिबन्धलाई “ठूलो” भन्दै यदि रुस युद्ध रोक्न सहमत भएमा यसलाई तुरुन्तै हटाउन सकिने पनि बताए।

नेटोका महासचिव रुट्टेले पनि यो कदमको प्रशंसा गर्दै यसले पुटिनमाथि “थप दबाब” सिर्जना गर्ने बताए।

यसअघि ट्रम्प र पुटिनबीच युक्रेन युद्ध अन्त्य गर्ने आशामा अलास्कामा भेटवार्ता भएको थियो, तर त्यसले कुनै सफलता दिन सकेन।

अमेरिका र रुसको शान्ति प्रस्तावबीचको मुख्य मतभेद यो हप्ता स्पष्ट हुँदै गएको छ। ट्रम्पले हालको युद्धविराम रेखामा लडाइँ रोक्न मस्कोले अस्वीकार गर्नु नै मुख्य समस्या भएको संकेत गरेका छन्।

गत हप्ता, बेलायतले पनि रोसनेफ्ट र लुकोइलमाथि यस्तै प्रतिबन्ध लगाएको थियो। बेलायतको कदमको जवाफमा रुसले आफ्ना प्रमुख ऊर्जा कम्पनीहरूलाई निशाना बनाउँदा विश्वव्यापी इन्धन आपूर्तिमा बाधा पुग्ने र विश्वभर मूल्य वृद्धि हुने चेतावनी दिएको थियो।

यी दुई रुसी तेल कम्पनीहरूले दैनिक ३१ लाख ब्यारेल तेल निर्यात गर्छन्। रोसनेफ्टले रुसको कुल तेल उत्पादनको झन्डै आधा हिस्सा ओगटेको छ, जुन विश्वव्यापी उत्पादनको ६% हो। तेल र ग्यास रुसको सबैभन्दा ठूलो निर्यात हो, जसका मुख्य ग्राहकहरू चीन, भारत र टर्की हुन्।

बेलायती विदेश मन्त्री यभेट कुपरले अमेरिकी प्रतिबन्धलाई “हार्दिक स्वागत” गरेकी छन्। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले पनि बुधबार स्वीकृत भएको ईयूको नयाँ प्रतिबन्ध प्याकेजको प्रशंसा गरिन्, जसमा रुसी तरल प्राकृतिक ग्यासको आयातमा प्रतिबन्ध समावेश छ।

रुसले भने युक्रेनी सेनाले पूर्वी युक्रेनको डोनबास क्षेत्र छोड्नुपर्ने आफ्नो पुरानो अडान कायम राखेको छ।

प्रकाशित : 23 October, 2025

प्रतिक्रिया दिनुहोस्