मौलाकाली केबलकारमा ७० करोडको क्षति, अस्ट्रियाबाट आउँदैछन् प्राविधिक
सहयात्रा टिभी
काठमाडौं । कात्तिक ९, पूर्वी नवलपरासीको गैंडाकोटमा हालै सञ्चालनमा आएको मौलाकाली केबलकारमा ‘जेनजी’ आन्दोलनकारीले गरेको तोडफोड र आगजनीबाट करिब ७० करोड रुपैयाँ बराबरको क्षति भएको छ। गत भदौ २४ गते साँझ भएको उक्त घटनापछि बन्द रहेको केबलकार दशैं-तिहार जस्तो मुख्य सिजनमा ठप्प हुँदा ठूलो व्यावसायिक र सामाजिक क्षति भएको छ।

केबलकारको तल्लो स्टेसनमा भएको आगजनीबाट महत्त्वपूर्ण केबल, सेन्सर र कन्ट्रोल रुमका उपकरणहरू जलेर नष्ट भएका छन्। स्टेसन म्यानेजर सुरज पौडेलका अनुसार, बाहिरबाट हेर्दा सामान्य क्षति देखिए पनि भित्री प्रणालीमा ठूलो नोक्सानी पुगेको छ। “केबलकारको मुख्य स्टेसनमा आगो लाग्दा महत्वपूर्ण केबलहरु नै जलेर नष्ट भएका छन्, सेन्सरहरु बिग्रिएका छन्,” पौडेलले भने, “बाहिरबाट झट्ट हेर्दा धेरै क्षति नभएको जस्तो देखिए पनि झण्डै ७० करोड बराबरको क्षति भएको हाम्रो अनुमान छ।”
आगजनीका कारण बन्द केबलकार कात्तिक महिनाभित्रै पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। पौडेलका अनुसार, क्षतिग्रस्त उपकरणहरू विदेशबाट आयात गर्नुपर्ने र महँगो भएकाले मर्मतमा ढिलाइ भएको हो। अस्ट्रियाबाट सामानसहित प्राविधिक टोली कात्तिक १३/१४ गतेतिर आउने र उनीहरूको जाँच तथा सिफारिसपछि नयाँ उपकरण जडान गरेर केबलकार सञ्चालनमा ल्याइनेछ। हाल स्टेसनमा टायल, मार्बल र रंगरोगनको काम भइरहेको छ।
भदौ २४ गते साँझ साढे ६ बजेतिर एक हुल मानिसहरूले एक्कासी स्टेसनमा आक्रमण गरेका थिए। उनीहरूले पार्किङमा रहेका गाडी, जेनेरेटर, टिकट काउन्टर, स्टेसन इञ्चार्जको कार्यालय, क्याफे र कन्ट्रोल रुममा आगजनी र तोडफोड गरेका थिए। पौडेलले त्यो क्षण सम्झँदै भने, “उनीहरूले सिसा फुटाए, भित्र पसेर आगो लगाउन थाले। प्रहरीलाई खबर गरे पनि आउन सक्ने अवस्था थिएन। को आगो लगाउने, को रमिते, को लुटपाट गर्न आएको, केही थाहा भएन।” आक्रमणकारीले स्टेसन परिसरमा रहेको ग्लोबल आईएमई बैंकको एटीएमसमेत लैजाने प्रयास गरेका थिए। करिब साढे ३ घण्टासम्म चलेको आगजनी र तोडफोडपछि ८ जना कर्मचारी मिलेर आगो निभाएको पौडेलले बताए।
व्यावसायिक र सामाजिक असर
दशैं-तिहारको समय केबलकारको सबैभन्दा व्यस्त सिजन हो। गत वर्ष यही समयमा ६० हजारभन्दा बढी यात्रुले केबलकार चढेर मौलाकाली मन्दिरको दर्शन गरेका थिए। यो वर्ष केबलकार बन्द हुँदा ठूलो व्यावसायिक घाटा भएको छ।
केबलकार बन्द हुँदा यसको असर स्थानीय होटल व्यवसाय र रोजगारीमा समेत परेको छ। होटलहरूको अकुपेन्सी दर घटेको छ भने केबलकार र सम्बन्धित होटलमा कार्यरत १०० भन्दा बढी स्थानीय कर्मचारी कामविहीन बनेका छन्।
२०८० वैशाख १८ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको यो केबलकारले मन्दिरमा आउने भक्तजनको संख्या करिब ३० प्रतिशतले बढाएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिग्राम सापकोटा बताउँछन्। यसले स्थानीय पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेलेको थियो।


