आज रातिदेखि मौसम प्रभावित भएसँगै वर्षा र हिमपातको सम्भावना
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १०, जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि बुधवार बिहानसम्म वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

विभागले पोस्ट मनसुनसम्बन्धी विशेष मौसम बुलेटिन निकालेर पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण आउँदो दुई दिन मौसम प्रभावित हुने जानकारी गराएको हो ।
विभागका अनुसार गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा अत्यधिक हिमपात र सबैजसो प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा मध्यम खालको हिमपातको सम्भावना छ ।
अरब सागरमा बसेको प्रणालीको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँसहित बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा गराउने सम्भावना रहेको जानकारीमा आएको छ ।
विभागले सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, पर्वतारोहण, कृषि र पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ ।
यसअघि पर्यटन विभागले हिमाली क्षेत्रमा पदयात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिसकेको छ भने मौसमविद्हरूले धानबाली काटेर खेतमा नछाड्न आग्रह गरेका छन् ।


