गम्भीर वायु प्रदूषण फैलिएपछि दिल्लीबासी कृत्रिम वर्षाको पर्खाइमा
सहयात्रा टिभी
काठमाडौं । कात्तिक ११, भारतको राजधानी दिल्लीमा फैलिएको गम्भीर वायु प्रदूषण नियन्त्रण गर्न सरकारले मंगलबार कृत्रिम वर्षा गराउने प्रयासस्वरूप क्लाउड सिडिङ गरेको छ ।

क्लाउड सिडिङमार्फत् कृत्रिम वर्षा भए विषाक्त धुवाँ र धुलोले ढाकिएको राजधानी दिल्लीको वायुमण्डल सफा हुने अपेक्षा गरिएको छ । क्लाउड सिडिङपछि अहिले दिल्लीबासी कृत्रिम वर्षाको पर्खाइमा छन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार आइआइटी कानपुरका वैज्ञानिकहरूको टोलीले यो अभियान सञ्चालन गरेको हो ।
उक्त संस्थाको सानो विमानले दिल्लीको उत्तरी क्षेत्रका बादलमाथि उडान भरेर सिल्भर आयोडाइड र सोडियम क्लोराइडजस्ता रासायनिक पदार्थ छरेको इन्डिया टूडेले जनाएको छ । यी रासायनिक पदार्थ वर्षा गराउनका लागि प्रयोग गरिन्छन् ।
निर्धारित समय अनुसार मंगलबार दिउँसो १२:३० बजे सुरु हुने भनिएको क्लाउड सिडिङ भिजिबिलिटी कम हुँदा केही ढिलो सुरु भएको थियो ।
दिल्लीका वातावरणमन्त्री मन्जिन्दर सिंह सिरसाले भने, ‘यदि यो प्रयास सफल भयो भने कृत्रिम वर्षामार्फत प्रदूषणमा उल्लेखनीय सुधार आउनेछ ।
दिल्लीको वायु प्रदूषणले त्यहाँका नागरिकको औसत आयु लगभग ११.९ वर्षले घटाएको एक अध्ययनले देखाएको छ । दिल्ली सरकारले प्रदूषण घटाउने उद्देश्यले गत सेप्टेम्बर २५ मा आइआइटी कानपुरसँग सम्झौता गरेको थियो ।
उक्त सम्झौताअनुसार पाँच वटा कृत्रिम वर्षा (क्लाउड सिडिङ) परीक्षण गर्ने योजना बनाइएको छ । जसका सबै उडानहरू दिल्लीको उत्तर–पश्चिम क्षेत्रका लागि तय गरिएको छ ।
नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले यसअघि आइआइटी कानपुरलाई यो परीक्षण अक्टोबर १ देखि नोभेम्बर ३० भित्र कुनै पनि समयमा गर्न अनुमति दिएको थियो ।


