सरकार, दल र ‘जेनजी’बीच पहिलो पटक वार्ता हुँदै

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १२, प्रतिनिधि सभा निर्वाचनको लागि सहज वातावरण निर्माण गर्ने प्रयास स्वरूप सरकारले आज राजनीतिक दल र जेनजी पुस्ताका प्रतिनिधिहरूसँग संयुक्त छलफल गर्दैछ। यो पहिलो पटक हो जहाँ निर्वाचनको विषयमा सरकार, स्थापित राजनीतिक दल र नयाँ पुस्ता एकै मञ्चमा भेला हुन लागेका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (बुधबार) अपरान्ह ४ बजेका लागि त्रिपक्षीय बैठक बोलाइएको छ। बैठकमा सहभागी हुन सरकारले राजनीतिक दल र जेनजी समूहका प्रतिनिधिहरूलाई औपचारिक रूपमा आमन्त्रण गरिसकेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोल बनाउन यो नौलो र महत्वपूर्ण पहल थालिएको बताए। उनका अनुसार निर्वाचन सफल पार्न सरकारले विभिन्न पक्षहरूसँग चरणबद्ध रूपमा वार्ता र छलफललाई निरन्तरता दिइरहेको छ।

यसअघि गत कात्तिक ४ गते सरकार र राजनीतिक दलहरूबीच निर्वाचनकै विषयमा छलफल भएको थियो। साथै, प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सम्पन्न सर्वदलीय बैठकमा सबै पक्षले निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्नका लागि सकारात्मक वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

लामो समयको राजनीतिक संवादहीनता तोड्दै हुन लागेको यो औपचारिक र त्रिपक्षीय बैठकले निर्वाचनका लागि विश्वासको वातावरण तयार गर्नेमा सरकार आशावादी छ।

प्रकाशित : 29 October, 2025

प्रतिक्रिया दिनुहोस्