मानव अधिकार आयोगले गरे व्यवसायी प्रसाईंलाई बोलाएर छलफल
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १२, मानव अधिकार आयोगले व्यवसायी दुर्गा प्रसाईंलाई बोलाएर छलफल गरेको छ । प्रसाईंले आन्दोलन सुरु गर्ने बताइरहेका बेला आयोगले चासो राख्दै बुधबार बोलाएर छलफल गरेको हो ।

०८१ चैत १५ मा राजावादी समूह तथा पछिल्लो भदौ २३ र २४ को जेनजी आन्दोलन हिंसात्मक बनेको भन्दै त्यसो हुन नदिन सम्बन्धित पक्षलाई सचेत गराउन छलफल थालिएको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए ।
व्यवसायी प्रसाईंसँग बुधबार बिहान साढे ११ बजेदेखि झण्डै एक घण्टा छलफल भएको उनले बताए ।
प्रसाईंसँगको छलफलमा आयोगका अध्यक्ष तप बहादुर मगर, सचिव मुरारी प्रसाद खरेलसहितका पदाधिकारी समेत सहभागी थिए ।
चैत १५ र भदौ २३र२४ को आन्दोलनमा ठूलो मानवीय तथा भौतिक संरचनामा क्षति पुगेकाले त्यसो हुन नदिन आयोगले सुरक्षा निकायका प्रमुखहरूसँग पनि छलफलको तयारी गरेको प्रवक्ता पोखरेलले बताए ।
प्रवक्ता पोखरेलका अनुसार छलफलमा व्यवसायी प्रसाईंले आफ्नो समूहले आह्वान गर्ने आन्दोलन हिंसात्मक नहुने प्रतिबद्धता व्यक्त गरेका थिए ।
तर, छलफलपछि बाहिरिनेक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले भने मानव अधिकार आयोगले पनि आफूले उठाउँदै आएका मागमा ऐक्यबद्धता जनाएको दाबी गरेका छन् ।


