सरकार, राजनीतिक दल र जेनजीहरूबीच वार्ता सुरु हुँदै
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १२, सरकार, राजनीतिक दल र जेनजीहरूबीच वार्ता केहीबेरमा सुरु हुँदैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल हुन लागेको हो ।

प्रतिनिधि सभा निर्वाचनको वातावरणका लागि सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्तासँग वार्ता गर्न लागेको हो ।
छलफलमा १३ जना जेनजीहरू सहभागी हुँदैछन् । सरकारले आजको छलफललाई त्रिपक्षीय वार्ता भनेको छ ।
छलफलमा सहभागी हुनेहरूमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन रानामगर रहेका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलो पटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच संयुक्त बैठक आयोजना भएको जानकारी गराएका छन् ।
यसअघि ४ कात्तिकमा सरकार र राजनीतिक दलहरूबीच छलफल भएको थियो ।
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने गरी सबैपक्ष सकारात्मक भएका थिए ।
यसबीचमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए । लामो समयपछिको औपचारिक राजनीतिक संवादले निर्वाचन वातावरण तयार गर्ने अपेक्षा सरकारको छ ।


