आज हरिबोधिनी एकादशी : तुलसी-दामोदर विवाहसँगै माङ्गलिक कार्यको सुरुवात

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १५, वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले आज कार्तिक शुक्ल एकादशीका दिन, हरिबोधिनी एकादशी पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् । चार महिनाअघि असार शुक्ल एकादशीमा क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आज ब्यूँतिने विश्वासका साथ यो पर्व मनाइने गरिन्छ । यसै अवसरमा भगवान् विष्णुको प्रतीक दामोदर र विष्णुप्रिया तुलसीको विवाह र विशेष पूजाआजा गर्ने परम्परा रहेको छ ।

हरि शयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्मको चार महिनाको अवधिलाई चतुर्मास भनिन्छ । यस अवधिमा विष्णुका भक्तहरूले तुलसीको विशेष पूजा र व्रत गर्ने गर्दछन् । विष्णु शयनमा रहने भएकाले यी चार महिना विवाह, ब्रतबन्ध जस्ता माङ्गलिक कार्यहरू रोकिने प्रचलन छ । वर्षायाम, बाढीपहिरो र सर्प जस्ता जीवको भयका कारण यो समयमा यात्रा गर्नु पनि अशुभ मानिन्छ । आज विष्णु ब्यूँतिने दिनदेखि भने यस्ता माङ्गलिक कार्यहरू पुनः प्रारम्भ हुन्छन् ।

यस पर्वको मुख्य आकर्षण तुलसीको विवाह हो । हरिशयनी एकादशीमा घर-घरमा रोपिएको तुलसीको मठलाई गाईको गोबर र रातो माटोले लिपेर, फूलमालाले सिँगारी विवाहको मण्डप जस्तै बनाइन्छ । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालोको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरी दामोदरसँग विवाह गराइन्छ । धार्मिक विश्वासअनुसार कार्तिक महिनाभर सम्पूर्ण देवीदेवता तुलसीमै निवास गर्छन् ।

तुलसीको महत्त्व धार्मिक दृष्टिले मात्र नभई वैज्ञानिक रूपले पनि प्रमाणित छ । तुलसीको सुगन्धले वातावरणलाई शुद्ध बनाउने, यसको पात, डाँठ र फूलको रस रुघाखोकी तथा औलो जस्ता रोगमा औषधिको काम गर्ने विश्वास गरिन्छ । तुलसीको मठ भएको घरलाई तीर्थ समान मानिन्छ र यस्तो घरमा यमदूत समेत पस्दैनन् भन्ने जनआस्था छ ।

हरिबोधिनी एकादशीलाई ‘ठूलो एकादशी’ पनि भनिन्छ । यस दिन अन्न ग्रहण नगरी सखरखण्ड, पिँडालु, वनतरुल जस्ता कन्दमूललाई फलाहारका रूपमा ग्रहण गरिन्छ । यस्तो व्रतले पाप नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुने धार्मिक विश्वास छ । यस एकादशीको व्रतले हजार अश्वमेध यज्ञ बराबरको फल मिल्ने शास्त्रीय मान्यता छ ।

आजको दिन भक्तजनहरूले “गोविन्द उठ्नुस्, तपाईँ सुते जगत् सुत्छ, तपाईँ उठे जगत् उठ्छ” भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गर्दछन् । काठमाडौँ उपत्यकाका चार नारायण— चाँगुनारायण, विशङ्खुनारायण, शेषनारायण र इचँगुनारायण, तथा बूढानीलकण्ठमा विशेष मेला लाग्ने गर्दछ । यसैगरी धादिङको नीलकण्ठस्थित कालिका मन्दिरलगायत देशभरका नारायण मन्दिरहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

प्रकाशित : 1 November, 2025

प्रतिक्रिया दिनुहोस्