प्रतिकूल मौसमको कहर : तीन विमानस्थल बन्द, हिमाली उडान रद्द

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १५, पश्चिमी वायु र अरब सागरमा विकसित न्यून चापीय प्रणालीको संयुक्त प्रभावले शनिबार देशभरको मौसम प्रभावित भएको छ, जसका कारण हवाई उड्डयन क्षेत्रमा प्रत्यक्ष असर परेको छ। प्रतिकूल मौसमका कारण भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा सम्पूर्ण उडानहरू स्थगित गरिएका छन्।

मौसममा आएको खराबीले उडानका लागि आवश्यक भिजिबिलिटी नपुग्दा विमानस्थलहरू बन्द गर्नु परेको हो। यसका साथै, बाक्लो बादलले हिमालहरू पूर्ण रूपमा ढाकेका कारण पर्यटकहरूका लागि सञ्चालन हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट) हरू पनि रद्द भएका छन्।

हाल देशका कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा अधिकांश बदली रहेको छ भने अन्य प्रदेशहरूमा आंशिक बदलीको अवस्था छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका केही स्थानहरू तथा कोशी, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसममा सुधार नआएसम्म उडानहरू सञ्चालन हुन नसक्ने बताइएको छ।

प्रकाशित : 1 November, 2025

प्रतिक्रिया दिनुहोस्