रुकुमपूर्वमा अटो दुर्घटना : दुई महिलाको मृत्यु, पाँच घाइते

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १६, रुकुमपूर्वको भूमे गाउँपालिका–१ स्थित मध्यपहाडी लोकमार्गमा शनिबार राति अटो दुर्घटना हुँदा दुई जना महिलाको मृत्यु भएको छ । दुर्घटनामा तीन बालबालिकासहित पाँच जना घाइते भएका छन् । दुर्घटनालगत्तै अटो चालक फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार, लुकुमबाट ब्राहतालतर्फ जाँदै गरेको रा१ह ६७९७ नम्बरको अटो भूमे–१ स्यावालमा सडकबाट अनियन्त्रित भई करिब ३०० मिटर तल खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकाहरूको उद्धार गरी रुकुमपूर्व अस्पताल पुर्‍याइएकोमा उपचारका क्रममा भूमे–१ निवासी ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया सबिता घर्तीको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

दुर्घटनामा घाइते भएका २६ वर्षीया प्रतीक्षा बुढा, उनका ११ महिनाका छोरा सुभम बुढा, २८ वर्षीया ब्युटी पुन, २ वर्षीया समृद्धि पुन र ३ वर्षीय सक्षम घर्तीको अवस्था भने सामान्य रहेको छ । उनीहरूलाई सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

प्रहरीले अटो चालक भूमे–१ लुकुमका २९ वर्षीय जोते घर्ती फरार रहेको र उनको खोजी भइरहेको जनाएको छ । दुर्घटनाको खबर पाउनासाथ प्रहरी चौकी लुकुम, इलाका प्रहरी कार्यालय काँक्री र जिल्ला प्रहरी कार्यालयको २० जनाको संयुक्त टोली उद्धारमा खटिएको थियो ।

प्रकाशित : 2 November, 2025

प्रतिक्रिया दिनुहोस्